दुई पटकसम्म विदेश भ्रमण जाँदा विदेशी मुद्रा सटही सुविधा पाइने

0
Shares

चालु आर्थिक वर्षमा भारत बाहेकका देशमा भ्रमणका लागि जाने नेपालीले २ पटक सम्म डलर सटही सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले भारत बाहेकका मुलुकमा भ्रमण जाने नेपालीका लागि प्रति व्यक्ति २ हजार ५ सय अमेरिकी डलर सटही सुविधा पाउने व्यवस्था गरेको छ । तर, केन्द्रीय बैंकको निर्देशन आउनु भन्दा अघि चालु आर्थिक वर्षमै विदेश भ्रमणका लागि डलर सटही सुविधा लिइसकेको भए थप एक पटकका लागि लिन सक्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले विदेशी मुद्रा सञ्चित दबाबमा रहेको समयमा यस्तो सुविधामा कडाइ गरेको थियो । पछिल्लो समयमा विदेशी विनिमय सञ्चितिमा आएको सुधार संगै विदेश भ्रमणमा जादा पासर्पोटका आधारमा पाउने सटही सुविधामा लचक बनेको हो ।

निर्देशन अनुसार भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी बापत प्रति पटक अमेरिकी डलर २ हजार ५ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा पाउनेछन । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ । एक वर्षलाई केन्द्रीय बैंकले आर्थिक वर्षको हिसावमा गणना गरेको छ ।

एक वर्ष भन्नाले एक आर्थिक वर्षलाई जनाउँछ र यो परिपत्र जारी भएको मिति २०८०/०४/१२ देखि गणना हुनेछ । यो परिपत्र जारी भएको मिति २०८०/०४/१२ अगावै राहदानी बापतको सटही सुविधा लिई भ्रमण गरिसकेकाको हकमा आर्थिक वर्ष २०८०/८१ मा प्रति पटक अधिकतम अमेरिकी डलर २,५०० गरी अधिकतम दुई पटक सटही सुविधा प्रदान गर्न बाधा पर्ने छैन ।

त्यसैगरी वैदेशिक रोजगारीमा जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर ५ सय डलर सटही सुविधा छ । अन्य मुलुक जानेको हकमा अधिकतम अमेरिकी डलर २ सय र नेपाल सरकारले जारी गरेको यात्रा अनुमतिपत्रको आधारमा विदेश भ्रमणमा जान राहदानी सुविधा माग भई आएमा त्यस्ता ब्यक्तिहरूलाई अमेरिकी डलर एक सम्मको सटही सुविधा प्रदान गर्नु पर्नेछ ।

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को व्यवस्था बमोजिम परिवत्र्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २ सय सम्मको सटही सुविधा प्रदान गर्न सक्नेछन् ।

स्थलमार्गबाट चीनको स्वशाशित क्षेत्र तिव्वत र स्थलमार्गबाट सार्क मुलुकहरू (भारत वाहेक) मा निजी भ्रमणमा जाने व्यक्तिहरूलाई सम्बन्धित देशको प्रवेशाज्ञा भएमा एक पटकमा बढीमा अमेरिकी डलर ५ सयसम्म र एक आर्थिक वर्षमा बढीमा अमेरिकी डलर एक हजार डलरसम्मको सटही सुविधा उपलब्ध हुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।