विदेशी विनिमय सञ्चिति ५ महिनामा २ खर्ब २८ अर्बले बढ्यो, १४ महिनाको वस्तु आयात धान्ने

0
Shares

चालु आर्थिक वर्षको पाँच महिनामा विदेशी विनिमय सञ्चिति २ खर्ब २८ अर्बले बढेको छ । चालु आर्थिक वर्ष सुरुभएयता रेमिट्यान्स आप्रबाहमा वृद्धि र आयातमा कमी आएसंगै विदेशी विनिमय सञ्चिति बढेको हो ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई २०८० मंसिर मसान्तमा १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० मंसिर मसान्तमा ८.९ प्रतिशतले वृद्घि भई २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ । २०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए।

अन्तर्राष्ट्रिय बजारमा २०७९ मंसिर मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ८२.३४ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८० मंसिर मसान्तमा ६.७ प्रतिशतले कमी आई अमेरिकी डलर ७६.८४ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ मंसिर मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७८३.५५ रहेकोमा २०८० मंसिर मसान्तमा १४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २०४१.३५ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।