बैंकहरुको पैसा राष्ट्र बैंकमा थुप्रिएपछि निक्षेप संकलन उपकरणको लगानीमा कमी

0
Shares

बैंक तथा वित्तीय संस्थामा तरलता घटेसंगै निक्षेप संकलन उपकरणको लगानीमा कमी आएको । बैंकहरुले तरलता व्यवस्थापन गरेर पनि प्रतिफल पाउने उपकरण निक्षेप संकलनमा पछिल्लो समयमा माग गरे अनुसारको आवेदन समेत पर्न छोडेको हो।

बिहीबार केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनको आह्वान गरेको थियो । उक्त निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाले ११ अर्ब ८० करोडको माग गर्दे आवेदन दिएका थिए । त्यसमा पनि केन्द्रीय बैंकले ब्याजदर धेरै माग गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप लिएन । बिहीबार केन्द्रीय बैंकले ९ अर्ब ७० करोड रुपैयाँ बरावरको मात्र निक्षेप लिएको छ ।

केन्द्रीय बैंकले अल्पकालिन ब्याजदर र तरलता व्यवस्थापनका लागि निरन्तर निक्षेप संकलन उपकरण जारी गरिरह्यो । त्यसपछि वित्तीय प्रणालीको पैसा केन्द्रीय बैंकमा थुप्रिन पुग्यो भने अन्तर बैंक ब्याजदर तथा निक्षेप संकलनको ब्याजदर पनि ३ प्रतिशतको हाराहारीमा पुगेको छ । त्यसले गर्दा बैंकहरुसंग निक्षेप संकलन दिने पैसा कम भएसंगै ब्याजदर धेरै माग गर्दै थोरै आवेदन दिन थालेका हुन । बैंकहरुमा अधिक तरलता कम भएसंगै प्रतिस्पर्धा पनि कम भयो र केन्द्रीय बैंकमा निक्षेप राख्ने क्रम पनि घटेको हो ।

गत मंसिर महिनाको पहिलो साता देखि सुरु गरेको निक्षेप संकलनमा पछिल्लो समयमा आएर माग गरे अनुसारको आवेदन नपर्ने गरेको छ। केन्द्रीय बैंकले ७, १३, १४ र २१ दिने अवधिको निक्षेप बैंक वित्तीय संस्थाबाट लिदै आएको छ । केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलन उपकरण मार्फत अधिक तरलता खिच्ने र अन्तर बैंक ब्याजदर बढाउने काम गर्दै आएको छ ।

पुरानो निक्षेप संकलन परिपक्क हुने र वित्तीय प्रणालीमा अधिक तरलता भइ अल्पकालिन ब्याजदर घट्न सक्ने भएपछि केन्द्रीय बैंकले बिहीबार पनि सात दिन अवधिको २० अर्ब निक्षेप संकलन जारी गर्यो । उक्त निक्षेप संकलनमा बैंक वित्तीय संस्थाले ११ अर्ब ८० करोड मात्र दिन चाहे । बैंक तथा वित्तीय संस्थाले माग गरेभन्दा पनि थोरै आवेदन त्यसमा पनि ब्याजदर बढाएर निक्षेप दिन खोजेपछि केन्द्रीय बैंकले आवेदन परेकोमध्ये पनि सबै निक्षेप स्विकार गरेन ।

बिहीबारको निक्षेप संकलन उपकरणमा बैंक तथा वित्तीय संस्थाले अधिकतम ३.४५ र न्यूनतम २.६८९९ प्रतिशत ब्याज माग गरेको केन्द्रीय बैंकले जनाएको छ । उक्त निक्षेपको औसत ब्याजदर ३.०९४२ प्रतिशत कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।