आईजीएससी बैठक: भारत-नेपाल अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न पहल

0
Shares

अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल-भारत अन्तर-सरकारी उपसमिति (आइजीएससी) को बैठक काठमाडौँमा सम्पन्न भएको छ ।

पुस २७ र २८ गते दुई दिनसम्म चलेको बैठकमा विभिन्न मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए।

त्यस्तै काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व भारत सरकारको वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशलले गरेका थिए ।

व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको थियो । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरेका थिए ।

भारतीय पक्षले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) लाई प्रोत्साहन गर्न पेरिस महासन्धिको व्यवस्थाको आवश्यकतामाथि प्रकाश पारेको जनाएको छ ।

नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्वाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले जोड दिएको थियो । समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहल कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालको आयात र निर्यातमा उल्लेखनीय योगदान पुर्‍याइरहेको भारत नेपालको प्रमुख व्यापार र लगानी साझेदारको रूपमा रहेको छ । यस बैठकमा भएको छलफलले दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।