पाँच महिनामा पौने ५५ अर्बको धितोपत्र सूचीकृत, साढे १६ अर्बको निष्काशन अनुमति

0
Shares

चालु आर्थिक वर्ष २०८०–८१ को पाँच महीना अवधिमा धितोपत्र बजारमा साढे ५५ अर्बको धितोपत्र सूचीकृत भएका छन् । यस्तै यस अवधिमा साढे १६ अर्बभन्दा बढीको धितोपत्रलाई सार्वजनिक निष्काशनका लागि अनुमति प्रदान गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा ४४ अर्ब ६५ करोड बराबरको साधारण सेयर, ६ अर्ब १० करोड बराबर रुपैयाँको हकप्रद सेयर, ३ अर्ब ९८ करोड बराबरको बोनस सेयर र ३ करोड बराबरको एफपीओ गरी कुल ५४ अर्ब ७६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

यसैगरी समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ८ अर्ब ५१ करोड बराबरको साधारण सेयर, ४ अर्ब ४० करोड बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, र १ अर्ब १० करोड बराबरको हकप्रद सेयर गरी कुल १६ अर्ब ५१ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० मंसिर मसान्तमा सूचीकृत ७ अर्ब ९३ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.३ प्रतिशत र जलविद्युत् कम्पनीको हिस्सा १३.५ प्रतिशत रहेको छ । त्यसैगरी लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

विसं २०८० मंसिर मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ ओटा पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८९ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन्। २०७९ मंसिरमा सूचीकृत कम्पनीहरूको संख्या २४७ रहेको थियो ।

विसं २०७९ मंसिर मसान्तमा १८८२.६१ रहेको नेप्से सूचकाङ्क २०८० मंसिर मसान्तसम्म्ममा ११२ अंकले बढेर १९९४.६० बिन्दुमा कायम भएको छ । २०८० मंसिर मसान्तमा धितोपत्र बजार पँुजीकरण ३ खर्ब ५५ अर्ब ४१ करोड रुपैयाँले वृद्धि भई ३० खर्ब ७६ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । विसं २०७९ मंसिर मसान्तमा बजार पुँजीकरण २७ खर्ब २१ अर्ब ११ करोड रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।