घोराही सिमेन्ट्सको १५ प्रतिशत लाभांश अनुमोदन

0
Shares

घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशतका दरले बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आव २०७९–८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०–८१ को मङ्सिर महिनासम्म १ अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिए ।

आव २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल कम्पनीको अधिकृत पुँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ ।

त्यस्तै कम्पनिको संचालक समितिका सदस्य गोविन्द लाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुदै व्यक्तिगत कारणले २०८० कार्तिक २ गते राजीनामा दिएकाले सोहि मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिएका छन् । योसँगै कम्पनीको संस्थापक समुहमा ५ जना सञ्चालक भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।