कैलाश हेलिकप्टरले प्रिमियममा आईपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

0
Shares

कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आफ्नो जारी पूँजी ३५ करोडको १० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्र्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सेयर जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

माघ ३ गते आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ३ करोड ५० लाख सेयर पूँजी बराबरको एक सय रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण सेयर प्रचलित कानूनको अधिनमा रही सर्वसाधारणहरुलाई प्रिमियम मूल्यमा जारी गर्ने कम्पनीले जनाएको छ ।

सन् २०१८ मार्च २३ बाट संचालनमा आएको यस कम्पनीले एयरबस कम्पनी फ्रान्स द्वारा निर्मित एएस३५० सेरिजको ३ वटा हेलिकप्टर मार्फत उच्चस्तरिय विविध सुविधा प्रदान गर्दै आएको छ । संचालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ माहामारीको समय आ.व.०७६/२०७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदै आएको छ ।

कम्पनीले आ.व.२०७९/२०८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५% बोनश सेयर र १०% का दरले नगद लाभांस वितरण गरेको छ । उक्त बोनश सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ३१ करोड ५० लाख रहेको छ । यस कम्पनीको बोनश वितरण पश्चात किताबी मुल्य १४६ रुपैयाँ २९ पैसा कायम रहेको कम्पनीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल संचालित हेलिकप्टर कम्पनीहरुले ५ वर्ष भित्र ५ थान हेलिकप्टर पुरयाउनु पर्ने भनी जारी गरिएको नितिलाई अनुसरण गर्दै पूँजी बृद्घि गरी सुरक्षा नितिको पूर्ण पालना गरी सन् २०२५ मा १ थान र सन् २०२७ मा १ थान गरी थप २ थान हेलिकप्टर सन् २०२७ सम्ममा थप गरी कुल ५ वटा हेलिकप्टर संचालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।