अर्ना लगायतका वियर उत्पादक यति ब्रुअरीले बुक बिल्डिङ्ग विधि मार्फत आईपीओ जारी गर्ने

0
Shares

यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटलंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे।

अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यति ब्रुअरी लिमिटेडको ब्रुअरी फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरी लिमिटेडले हाल अर्ना यति, वाईबी, शिखर लगायत किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ्ग विधि मार्फत यति ब्रुअरी लिमिटेडको साधारण सेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिने जनाइएको छ ।

यति ब्रुअरी लिमिटेडले चुक्ता पुँजीको २०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । अर्ना लगायतका वियर उत्पादन गर्दै आएको कम्पनीले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर (कर बाहेक) र १०० प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्न माघ २५ गते साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सभा डाकेको छ ।

सभाले बुक बिल्डिङ विधि मार्फत आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । साथै, पनि पारित गर्नेछ । सँगै सभामा आईपीओ मार्फत निष्कासन हुने पुँजीको उपयोगबारे निर्णय गर्ने, आईपीओ निष्कासन गर्नको लागि गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

सभाले कम्पनीको सेयरको अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने संस्थापक तथा सर्वसाधारण लगानीकर्ताको सेयर अनुपात ८५ः१५ कायम गर्ने प्रस्ताव पनि पेश गरिने कम्पनीले जनाएको छ ।

यती ब्रुअरी सन् २०१३ देखि सञ्चालनमा आएको कम्पनी हो । बिशाल र एभरेष्ट ग्रुपले संयुक्त रुपमा प्रवर्द्धन गरेको यस कम्पनीको प्लान्ट चितवनमा छ । उक्त प्लान्टको उत्पादन क्षमता १ वर्षमा १ करोड ३० लाख लिटर वियर रहेको छ । यती ब्रुअरीले मुख्यतयाः बियर उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।