अरुण भ्याली हाइड्रोपावरको हकप्रद निष्कासनका लागि बुकक्लोज तय

0
Shares

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको जारीगर्न स्वीकृति पाएको एक बराबर एक कित्ता अनुपातको हकप्रद सेयर निष्कासनका लागि सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तय भएको छ ।

कम्पनीको २०८० माघ ४ गते बसेको सञ्चालक समितिको २६ औं बैठकले माघ १५ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको कम्पनी सचिव रञ्जु अधिकारीले जानकारी दिइन् । बुकक्लोज मितिभन्दा अघिल्लो कारोबार दिन अर्थात माघ १४ गते आइतबारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयरका लागि दरखास्त दिन पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ थान कित्ता हकप्रद सेयर जारी गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुस १९ गते अनुमति पाएको छ ।

हकप्रद सेयर बिक्रीबाट प्राप्त रकम कम्पनीले ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ एएचपीसी हाइड्रोपावरले विकास गर्दै गरेको ३० मेगाबाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्व:पुँजीको लागि लगानी गर्नेछ । यस्तै बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकबाट लिएको ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ छ । शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।