गहुँको पिठो र चिउरा उत्पादन गर्ने हिमगिरी फूडको वार्षिक कारोबार एक अर्ब ३१ करोड

0
Shares

नेपाली भान्सामा प्रयोग हुने आटा, मैदा, चिउरा, सुजी उत्पादन गर्दै आएको हिमगिरी फूड प्रोडक्ट प्रालिले आर्थिक वर्ष २०२३ मा १ अर्ब ३१ करोड ७० लाख बराबरको कारोबार गरेको छ ।

आर्थिक वर्ष २०२२ मा ९२ करोड १० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२३ मा ४२.९९ प्रतिशतले बढेर १ अर्ब ३१ करोड पुगेको हो । कम्पनीको आम्दानीमा भएको सुधारसँगै अन्य वित्तीय सूचांक समेत सकरात्मक देखिएका छन् ।

ह्रासकट्टी, अर्मोटायजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा आव २०२२ मा कुल सञ्चालन आम्दानीको ६.५३ प्रतिशत रहेको छ भने आव २०२३ मा ९.२९ प्रतिशत पुगेको छ ।

सन् २०१३ मा स्थापना भएको कम्पनीले गहुँ र धान प्रशोधन गरी मैदा, आटा, सुजी, चिउरा, चोकर लगायतका सामाग्री उत्पादन गर्दै आएको छ । ‘बन्सी’ ब्रान्डनामबाट कम्पनीले यी सामाग्रीहरुको बिक्री वितरण गर्ने गरेको छ ।

रुपन्देहीको रोहिनीमा कम्पनीको उत्पादन प्लान्ट अवस्थित छ । वार्षिक रुपमा कम्पनीको उत्पादन क्षमता गहुँबाट उत्पादन हुने सामाग्रीहरुका लागि ३६ हजार २४० मेट्रिक टन रहेको छ भने चिउरा उत्पादन गर्ने क्षमता ७ हजार ८०० मेट्रिक टन छ ।

कम्पनीले ६३ करोड ५३ लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले १४ करोड ५० लाख बराबरको कर्जाका लागि डबल बी माइन्स र ४९ करोड ३ लाख बराबरको कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता १.८५ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।