मध्यपूर्वको तनाव र चीन–अमेरिका व्यापार युद्धले सुनको मूल्यमा उतारचढाब

0
Shares

निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँ ले वृद्धि भएको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ४०० तोकेको छ ।

मङ्गलबार छापावाला सुन प्रतितोला ७४ हजार र तेजाबी सुन प्रतितोला ७३ हजार ७०० मा खरिदबिक्री भएको थियो ।

गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० पुगेको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला पाँचले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला ८८५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ ।