विद्युतीय सवारीको आयात साढे दुई गुणाले बढ्दा डिजेल आयात साढे ३ अर्बले घट्यो  

0
Shares

चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको आयात उल्लेखीय रुपमा बढेको छ भने विद्युतीय सवारी साधानको आयात बढ्दै गर्दा डिजल आयातमा गिरावट आएको छ । 
 
चालु आवको ६ महिनामा गत आवको यसै अवधिको तुलनामा  विद्युतीय सवारीको आयात साढे २ गुणाले बढेको हो । चालु आर्थिक वर्षको पुस महिनसम्ममा १२ अर्ब ६४ करोड ५ लाख ७३ हजार रुपैयाँ बराबरको ५ हजार ९४ वटा इलेक्ट्रीक कार, जीप र भ्यान आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा करिब दुई गुणाले धेरै हो । 
गत आर्थिक वर्षको पुससम्ममा ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार मूल्य बराबरको १ हजार ७४९ वटा मात्र विद्युतीय गाडी आयात भएको थियो ।
 
विद्युतीय सवारीको आयातबाट सरकारले चालु आवको ६ महिनाको अवधिमा ५ अर्ब ५४ करोड ३७ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व गत आवको सोही अवधिको तुलनामा २४६ प्रतिशतले धेरै हो । गत आवको सो अवधिमा सरकारले १ अर्ब  ३९ करोड ४६ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो । 
 
भन्सार विभागका अनुसार ६ महिनामा ५० किलोवाट भन्दा मुनीका २ हजार ५६ वटा चारपांग्रे सवारी साधान नेपाल भित्रिएका छन् । यसरी भित्रिनेमा इलेक्ट्रीक कार, जीप र भ्यान रहेको छन् । ती सवारीको मूल्य ३ अर्ब ८३ करोड ५४ लाख १७ हजार रुपैयाँ पर्न आउँछ। जसबाट सरकारले १ अर्ब १४ करोड ८० लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
 
यस्तै ६ महिनाको अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाटसम्ममा ८ अर्ब ४५ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको २ हजार ९७० वटा चारपांग्रे विद्युतीय सवारीको आयात भएको छ ।
 
जसबाट ४ अर्ब १४ करोड ९२ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै १०१ किलोवाटदेखि २०० सम्मका ६ करोड ५४ लाख ४० हजार रुपैयाँ बराबरको १७ वटा चारपांग्रे विद्युतीय सवारी आयात भएका छन् । उक्त साधन ल्याए बापत सरकारले ४ करोड ६६ लाख ७ हजार रुपैयाँ राजस्व उठाएको छ । 
यस्तै ६ महिनाको अवधिमा २०१ देखि २०० किलोवाटसम्मका ३४ करोड ९७ लाख १० हजार रुपैयाँ बराबरको ६८ वटा सवारी साधन नेपाद भित्रिएको भन्सारको तथ्यांकले देखाएको छ । जसबाट २४ करोड ६४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
 
डिजेल आयात साढे ३ अर्ब रुपैयाँले घट्यो  
 
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ लाख १८ हजार ३५६ किलोलिटर डिजेल आयात भएको छ । जसको मूल्य ६६ अर्ब ४९ करोड ११ लाख ३७ हजार रुपैयाँ पर्न आउँछ। यो गत वर्षको सोही अवधिको तुलनामा ३ अर्ब ६१ करोड ४६ लाख २२ हजार रुपैयाँले कम हो । गत आर्थिक वर्ष २०७९÷८० मा ७० अर्ब १० करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५० हजार ९०२ किलोलिटर डिजेल आयात भएको थियो ।  
 
यसैगरी, चालु आर्थिक वर्षमा डिजेल आयातबाट सरकारले २५ अर्ब २८ करोड २३ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने गत आवमा सरकारले डिजेल आयातबाट  २३ अर्ब १४ करोड ४१ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
 
पेट्रोल आयातमा वृद्धि
 
चालु आर्थिक वर्षको ६ महिनामा ३३ अर्ब ९१ करोड ९६ लाख ७३ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । साउनदेखि पुस मसान्तसम्म ३ लाख ३९ हजार ३१५ किलोलिटर पेट्रोल आयात भएको हो । जुन गत वर्षको समिक्षा अवधिको भन्दा ४० करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा ३३ अर्ब ५३ करोड ५७ लाख ८ हजार रुपैयाँ बराबरको ३ लाख ३४ हजार ३१५ किलोलिटर पेट्रोल आयात भएको थियो । 
 
यसैगरी, चालु आर्थिक वर्षमा पेट्रोल आयातबाट सरकारले १९ अर्ब ४४ करोड ४ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने गत आवमा सरकारले पेट्रोल आयातबाट  १८ अर्ब २६ करोड ८६ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।