माथिल्लो तामाकोशीको लिलामी सेयर कहिले होला बाँडफाँड ?


माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामीको सेयर बाँडफाँडमा समय लाग्ने भएको छ । अधिक आवेदन परेसँगै सबै आवेदनको चेक सटही तथा आवेदनको रकमको तथ्यांक प्रशोधनमा समय लागेसँगै बाँडफाँडको मिति धकेलिएको हो ।

कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बोलकबोल खुल्ला गरेको दिनदेखि नै सबै चेकहरु जम्मा गर्ने काम तिब्र रुपमा भईरहेको छ । साथै नगद जम्मा गरेर भौचर बुझाएका आवेदकको विबरण बैंक खातामा रुजु गरी रकम जम्मा भए नभएको यकिन गर्ने काम पनि भईरहेको छ । त्यसैगरी कनेक्ट आईपिएसबाट रकम जम्मा गरेका आवेदकहरुको पनि रिमार्क्समा उल्लेख भएको व्यहोरा अनुसार क्यापिटलको बैंक खातामा रुजु गर्ने काम भइरहेको छ ।

धेरै आवेदन परेका कारण सबै आवेदकको विबरण रुजु गर्न र कारोबार भएको हो वा होइन भन्ने यकिन गर्न समस्या भएको क्यापिटलको भनाई छ । कनेक्ट आईपिएस गर्नेहरुले आफ्नो विबरण रिमार्क्समा प्रष्ट नराखिदिएका कारण स्टेटमेण्टमा कारोबार खोज्न मुस्किल भएको क्यापिटलको भनाई छ । नगद जम्मा गर्नेहरुको हकमा पनि यस्तो समस्या केही मात्रामा देखिएको जनाएको क्यापिटलले रिकन्सिलेशनका दौरान म्याच हुन नसकेका कारोबारलाई सम्बन्धित आवेदकसँग बैंक स्टेटमेण्ट माग गरेर तथ्यांकलाई अन्तिम रुप दिने जनाएको छ ।

सबै प्रकृया पुरा गर्नका लागि कम्तीमा एक साताको समय लाग्ने क्यापिटलले जनाएको छ । एक साता पछि रिकन्सिलेशनमा कुनै त्रुटी नभेटिएको खण्डमा यस अघिको प्रारम्भिक कटअफ अनुसार सेयर बाँडफाँड हुने क्यापिटलले जनाएको छ । यसका लागि कम्तीमा १० दिन लाग्ने क्यापिटलको अनुमान छ । 

क्यापिटलका अनुसार सेयर बाँडफाँड भएको १ सातामा मात्र सेयर नपाउनेहरुको रकम फिर्ता हुनेछ । उक्त समयमा क्यापिटलले कनेक्ट आईपीएस मार्फत रकम फिर्ता गर्ने र सोमा लाग्ने शुल्क सेयर आवेदकले नै व्यहोर्नुपर्ने यस अघि नै प्रष्ट पारिसकेको छ । सेयर नपाउनेहरुले आवेदन गरेको दिनदेखि रकम फिर्ता भएको दिनसम्मको व्याज पनि पाउने छैनन् ।

डाटा रिकन्सिलेशनका दौरान कुनै आवेदन रद्ध भएको खण्डमा त्यसको असर कटअफ मूल्यमा पर्नेछ । यस अघिको १४६ रुपैयाँ को कटअफ आए पनि उक्त मूल्यमा सेयर आवेदन गर्नेको संख्या धेरै भएकाले  प्रोराटा बेसिसमा सेयर बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।

क्यापिटलले माघ ५ गते शुक्रबारदेखि तामाकोशीको लिलामी सेयरको बोलकबोल खाल्न सुरु गरेकोमा ७ गते खोलिसकेर प्रारम्भिक कटअफ तय गरेको थियो । पुस १३ गतेदेखि २९ गतेसम्म लिलामीमा राखिएको सेयरमा ३० हजार भन्दा बढीले आवेदन दिएका थिए ।

कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि २९ गतेसम्म लिलामीबाट बिक्री गरेको हो । उक्त हकप्रद र लिलामीको सेयर सूचीकृरण पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँबाट २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्री गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।