नयाँ प्लान्ट निर्माणका लागि हुलास इन्फ्राले पौने ३ अर्ब कर्जा लिँदै

0
Shares

व्यापारिक घराना गोल्छा ग्रुपको लगानी रहेको हुलास इन्फ्रा लिमिटेडले नयाँ प्लान्ट निर्माणका लागि २ अर्ब ८१ करोड ९० लाख कर्जा लिने भएको छ ।

कम्पनीले ग्याल्भनाइज्ड आइरन र सिजे पर्लिन प्लान्ट निर्माणका लागि सो कर्जा लिने भएको हो ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले १ अर्ब ७१ करोड ७० लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बि र १ अर्ब १० करोड २० लाख बराबरको कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

सन् २०११ मा स्थापना भएको हुलास इन्फ्रा लिमिटेड हुलास आइरन इन्डष्टिजको भगिनी संस्था हो । कम्पनीले प्रिइन्जिनियर्ड बिलडिङसहरुमा डिजाइनिङ, फ्याब्रिकेशन र कमेन्समेन्टको काम गर्दै आएको छ । साथै कम्पनीले सट्टरपत्तिको उत्पादन तथा बिक्री वितरण गर्ने गर्छ ।

कम्पनीको मिड स्टिल उत्पादन गर्न सक्ने क्षमता वार्षिक रुपमा ८ हजार १०० मेट्रिक टन रहेको छ । कम्पनीको क्षमता वृद्धिका लागि वार्षिक ४ हजार ५०० मेट्रिक उत्पादन क्षमता रहेको ग्यालभनाइज्ड आइरन प्लान्ट र २ हजार क्षमता रहेको सिजे पर्लिन प्लान्ट निर्माण भइरहेको छ । उक्त प्लान्ट संचालनमा आउँदा कम्पनीले विभिन्न प्रकारका ग्यालभनाइज्ड वायर तथा रड उत्पादन गर्न सक्ने छ ।

सन् २०२३ मा २६ करोड ८० लाख सन्चालन आम्दानी गरेको कम्पनीका ग्यालभनाइज्ड र सिजे पर्लिन प्लान्ट संचालनमा आएको खन्डमा कम्पनीको आम्दानी बढ्ने देखिन्छ ।

सन् २०२२ मा कम्पनीले ११ करोड ६० लाख सन्चालन आम्दानी गरेको थियो । सन् २०२२ को तुलनामा सन् २०२३ मा कम्पनीको सन्चालन आम्दानी १३१ प्रतिशतले बढेको छ । आम्दानीमा वृद्धि देखिएता पनि ह्रासकट्टि, अमोर्टाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा भने घटेको छ।

सन् २०२२ मा कम्पनीको सो नाफा कुल संचालन आम्दानीको २२.५७ प्रतिशत थियो भने सन् २०२३ मा आम्दानी बढेता पनि नाफा २०.९७ प्रतिशतमा खुम्चिएको छ । सन् २०२३ को जुलाई महिनामा कम्पनी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको थियो । हाल कम्पनीका अध्यक्ष चन्द्र कुमार गोल्छा रहेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।