दुई जलविद्युत कम्पनीको लाभांश वितरण

0
Shares

दुई जलविद्युत कम्पनीको लाभांश वितरण भएको छ । चिलिमे जलविद्युत कम्पनी लिमिटेड र भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरी वार्षिक साधारण सभाबाट पारित लाभांश सेयधनीलाई वितरण गरेका हुन् ।

चिलिमे जलविद्युतले पुस २० गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले पारित गरेको कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले पुस २९ गतेदेखि सम्बन्धित सेयधरनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएको जानकारी दिएको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रूपैयाँको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको थियो । साधारण सभा र लाभांश प्रयोजनका लागि चिलिमेले पुस ८ गते एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा पुस ५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।

यसैगरी भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि पुस २४ गते सम्पन्न वार्षिक साधारण सभा पारित कर सहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले माघ २ गतेदेखिसम्बन्धीत सेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश जम्मा गरेको जानकारी दिएको छ ।

भगवति हाइड्रोपावरले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ५ गते एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा पुस ४ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।

साथै हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सेयरधनीलाई आफ्नो हितग्राही रहेको निक्षेप सदस्य कहाँ सम्पर्क गरी बैंक खाता अद्यावधिक गराउन अनुरोध गरेका छन् । मर्जरमा गएका संस्थामा बैंक खाता रहेका सेयरधनीको खाता नम्बर परिवर्तन हुने हुनाले परिवर्तित नयाँ खाता नम्बर हितग्राही खातामा अद्यावधिक गर्न आग्रह गरिएको छ । त्यसपछि मात्र बैंक खातामा नगद लाभांश जम्मा हुनेछ । सेयर धितो राखि कर्जा लिएका सेयरधनीले नगद लाभांश प्राप्त गर्न सम्बन्धित कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) सेयर रजिष्ट्रारको कार्यालयमा पेश गर्नुपर्नेछ ।

त्यस्तै कतिपय शेयरधनीको बैंक खातामा भएको नाम तथा बैंक खाता नम्बर सम्बन्धी विवरण नमिलेको कारणले बैंक खातामा पठाएको लाभांश रकम फिर्ता भई आएको हुँदा आफ्ना विवरणमा एकरुपता ल्याउने गरी सच्याउन समेत कम्पनीले अनुरोध गरेको छ ।

दुबै कम्पनीको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।