सुपर खुदी हाइड्रोले पौने ७० करोडको आईपीओ जारी गर्ने

0
Shares

सुपर खुदी हाइड्रोपावरले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ दरको ६९ करोड ७५ लाख रुपैयाँ बराबरको ६९ लाख ७५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एक विशेष कार्यक्रममा सुपर खुदी हाइड्रोपावर लिमिटेडको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

वि.सं. २०६५ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको सुपर खुदी हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय का.म.न.पा.वडा नंं. ३० डिल्लिबजार, चारखालमा रहेको छ । अधिकृत पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ बरावरको साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिकाको वडा नं. २, खुदीमा रहेको निर्माणाधिन माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी वि.सं.२०७८ साल बैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको हो । भविष्यमा थप हाईड्रोपावर क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको यस कम्पनीमा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।