अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीसहित पाँच जनाविरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
आयोगले रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्याम प्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज, सप्तरी दोश्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो।
उनीहरुले सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क प्याड वितरणका लागि विनियोजन भएको बजेट दुरुपयोग गरेको आयोगको भनाई छ । उनीहरुले गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुईगुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
आव २०७७/०७८ मा सरकारले सःशर्त अनुदानतर्फ सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन भएकोमा गाउँपालिकाले लागत अनुमान नै तयार नगरी ९ लाख ११ हजार ९ सय २५ रूपैयाँ पर्नेमा जस्मिन हाईजिन प्रोड्रक्ट प्रालिद्वारा उत्पादित स्यानिटरी प्याड १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरी ८ लाख ७४ हजार ३ रूपैयाँ बराबरको रकम बढी तिरेको अख्तियारको अनुसन्धानमा खुलेको छ।
उनीहरुसंग सोहि रकम बराबरको बिगो माग गर्दै बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । स्थानीय बजार प्रचलित दरभाउ समेतलाई आधारको रुपमा लिई गर्नुपर्नेमा प्रचलित कानूनी व्यवस्थाको पालना उनीहरुले नगरेको नपाइपछि आयोगले पाँचै जनाविरुद्ध ८ लाख ७४ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया