दोहोरो अंकले बढ्यो सेयर बजार, हाइड्रोको सेयरमा लगानीकर्ताको आकर्षण

0
Shares

आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । पछिल्ला सात कारोबार दिनमा लगातारको गिरावट सहित ९१ अंकको करेक्शनपछि आइतबारदेखि बजार लयमा फर्कने कोसिस गरेको हो । यसदिन बजार परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा अडिएको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ ।

बजार करेक्शनमा गएर फर्किएपनि लगानीकर्ताको आकर्षण भने हाइड्रोपावर क्षेत्रका कम्पनीमा नै देखिएको छ । घट्दो बैंक ब्याजका कारण यस वर्ष लगात घट्ने आंकलनका साथ सस्तो लागत र कम पुँजी भएका हाइड्रापावरको सेयरमा लगानीकर्ताको कारोबार घुमेको देखिएकाे छ । अन्य क्षेत्रका कम्पनीहरूको नाफा आशातित रुपमा बढ्न नसकेका परिप्रेक्षमा हाइड्रोपावरमा नै लगानीकर्ताले लगानी खन्याएका हुन् । सेयरमूल्य बढेका दशमध्ये ६ ओटा त हाइड्रोपावर मात्र छन् ।

आज ३०६ कम्पनीका १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर १ लाख ७८२ ओटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ८३ करोड ८७ लाख ७६ हजार ५८० रुपैयाँमा समेटिएको छ । बिहीबारको तुलनामा दैनिक कारोबार ७ करोड ४२ लाख रुपेयाँले बढेको हो ।

आइतबार कारोबारमा आएका उपसमूहगत सूचक मिश्रित देखिएको छ । तेह्रमध्ये ९ ओटा बढेको छ भने ४ ओटा मात्र घटेको छ । यसदिन होटल तथा पर्यटनमुलक, बैंकिङ्ग, उत्पादन तथा प्रशोधनमुलक र म्युचुअल फन्डको सूचक ओरालो लागेको हो । होटल सर्वाधिक १.८६ प्रतिशतले घटेको छ भने बाँकी एक प्रतिशतभन्दा कमले मात्र घटेको छ । आइतबार जलविद्युत सर्वाधिक १.३३ प्रतिशतले बढेको छ भने अन्य १.३२ र विकास बैंक १.२२ प्रतिशतले बढेको छ ।बाँकी सबै एक प्रतिशतभन्दा कमले बढेका छन् । आज १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको घटेको छ । ९ कम्पनीको स्थीर रहेको छ ।

यसदिन हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार रुपैयाँ बराबरको ५ लाख २१ हजार ८४३ कित्ता सेयर १८ हजार ८१६ ओटा सङ्ख्यामा खरिद बिक्री भएको हो । यस्तै ङादी ग्रुप पावरको सर्वाधिक ६ लाख ९० हजार १२२ कित्ता सेयर २३ करोड ५३ लाख ७३ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको रिलायबल नेपाल लाइफको १७ करोड ३४ लाख रुपैयाँको सेयर खरिद बिक्री हुँदा अरुण भ्याली हाइड्रोपावरको १४ करोड ३४ लाख रुपैयाँ तथा हाथवे इन्भेस्टमेन्ट लिमिटेडको १३ करोड २७ लाख रुपैयाँको कारोबार भयो ।

आइतबारको बजारमा मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ्गखोला जलविद्युत र सामलिङ पावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । तीनवटै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेका छन् । यससँगै मिड सोलुको प्रतिकित्ता ७५६.९० रुपैयाँ, मैलुङ्गखोलाको ४४१.१० रुपैयाँ र सामलिङ पावरको ५८६.१० रुपैयाँ पुगेको छ । यस्तै हाथवै इन्भेष्टमेन्टको ८.७३, माउन्टेन हाइड्रोपावर ७.९७, एशियन हाइड्रोपावर ६.८०, युनाइटेड मोदी हाइड्रोपावर ६.४६ बुद्धभुमि नेपाल हाइड्रोपावर ६.२३, समाज लघुवित्त ६.१० प्रतिशत र सपोर्ट लघुवित्तको ५.८२ प्रतिशतले मूलय बढेको हो ।

उता आजको बजारबाट चन्दा्रगिरि हिल्सका लगानीकर्ताले सर्वाधिक ९.८६ प्रतिशतलका दरले गुमाएका छन् । यस्तै इन्फिनिटी लघुवित्त ६.४० प्रतिशत, मनकामना स्मार्ट लघुवित्त ५.१९, उन्नति सहकार्य लघुवित्त ३.३७ र गणपति लघुवित्तका लगानीकर्ताले पनि आजको बजारबाट ३.१६ प्रतिशतका दरमा गुमाएका छन् ।

आइतबार कुल बजार पुँजीकरण ३२ खर्ब ८९ अर्ब ६६ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबरको तुलनामा १६ अर्ब २९ करोड ४३ लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।