एचआईडिसीएलको नाफा ७५ करोड माथि, ११.४७% बढ्यो

0
Shares

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७५ करोड २७ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ११.४७ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले ६७ करोड ५२ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीले ७ करोड ७४ लाख ६९ हजार रुपैयाँले खुद नाफा बढाएको हो । प्रशासनिक खर्च घट्दा मुनाफा वृद्धिमा थप टेवा मिलेको छ ।

लाभांश आम्दानी घटेपनि ब्याज आम्दानी साढे चार प्रतिशत बढीले बढेपछि कम्पनीको मुनाफामा सकारात्मक असर देखिएको हो । चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रहेको कम्पनीको नाफासँगै वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) पनि बढेको छ । कम्पनीको इपीएस २६ पैसा बढेर ६ रुपैयाँ ६१ पैसा कायम भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ १०८ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात २८.०३ गुणा छ ।

यस्तै कम्पनीको जगेडा कोष भने १८.७८ प्रतिशत घटेको छ । गत आवको यसै अवधिमा २ अर्ब ३२ करोड ७९ लाख २८ हजार रहेकोमा २०८० पुससम्म जगेडा कोषमा सञ्चित रकम घटेर १ अर्ब ८९ करोड ७ लाख ६ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको मुद्दती निक्षेप लगानी गत आवको यसै अवधिमा १३ अर्ब रहेकोमा १३.५४ प्रतिशत बढेर १४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज बढ्दा समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ४.६२ प्रतिशत बढेर १ अर्ब ७ करोड ७५ लाख ४५ हजार रुपैयाँ पुगेको हो । कम्पनीको लाभांश आम्दानी भने १९.३७ प्रतिशत घटेर १ करोड ७ लाख ७३ हजार रुपैयाँ कायम भएको छ । २०७९ पुसमा ४३ लाख ८५ हजार रहेको कन्ट्याक्ट मार्फत प्राप्त हुने आय १ करोड २३ लाख ४९ हजार पुगेको छ । गत आवको यसै अवधिमा १४ हजार रहेको कम्पनीको अन्य आयमा पनि उच्च बढोत्तरी हुँदै २ करोड ११ लाख ९६ हजार भएको छ । कम्पनीको प्रशासनिक खर्च ४.७२ प्रतिशतले घटेर १ करोड २० लाख ३९ हजार खर्च गरेको छ ।

कम्पनीको इक्वीटीमा लगानी ८४.२९ प्रतिशतले बढेर ३ अबर्ब २३ करोड २८ लाख लगानी गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब ७५ करोड ४२ लाख थियो । कम्पनीले विभिन्न जलविद्युत आयोजनामा ७ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।