कोसेली पठाउन बनाउने गरेको ‘मंमीको अचार’ थाहै नपाई व्यवसायीक उत्पादन तर्फ

3
Shares

बूढानिलकन्ठमा बसोबास गर्दै आएकी राजेश्वरी कन्डेलले कल्पना नै गरेकी थिइनन् कि उनी दुई महिना भेन्टिलेटरमा बस्नुपर्छ भनेर । जीन्दगीलाई खुलेर जिउने, साथीभाइसँग रमाउने स्वभावकी राजेश्वरीको जीवनले गत वर्षको भदौमा नयाँ मोड लियो जब उनमा पेटको समस्या देखियो । दिल्लीको मेदान्त हस्पिटलमा दुई महिना भेन्टिलेटरमा बिताएकी उनले जीवनदेखि आशा नै मारेकी थिइन् । तर दृढ इच्छाशक्ति, घर परिवारको साथ र मेडिकल साइन्सको चमत्कारकै कारण उनले नयाँ जीवन पाइन् ।

ज्यानै लिनसक्ने रोगबाट रिकर्भर हुँदै गर्दा शारिरिक, मानसिक पीडाबाट गुज्रिरहेकी उनको अवस्था देखेर परिवारका सदस्यहरुको मनमा उनी डिप्रेसनमा जाने हुन् कि भन्ने भय  थियाे । सानै उमेरदेखि घरमा आउने अतिथिहरुको सत्कारमा जुट्ने राजेश्वरीको हातको जादु उनका परिवार र नजिकका साथीहरुलाई थाहा थियो । बालापन मै आफ्नी आमाले विभिन्न प्रकारका अचारहरु बनाउँदा आफूले पनि सघाउने गरेको र विभिन्न प्रकारका अचारहरु बनाएको उनलाई प्रस्ट याद छ।

उनको हातको जादु विश्वसामु चिनाउन र उपचारकै क्रममा रहेकी उनलाई मानसिक रुपमा विक्षिप्त हुन नदिन उनका छोरा, छोरी, श्रीमान् र नजिकका साथीहरुले नै अचार व्यवसाय सुरु गर्न प्रेरित गरे । यसरी नयाँ जीवनको उपहार स्वरुप जन्मियो– ‘मंमीको अचार’।

परिवारको भरपुर साथ पाएकी राजेश्वरीको पारिवारिक पृष्ठभूमि भने बलियो छ । उनी श्री ३ भीम शमशेरकी प–नातिनी हुन् । सम्पन्न परिवारमा हुर्किएता पनि कामको सम्मान हुनुपर्छ र कुनै पनि काम सानोठूलो नहुनेमा विश्वास गर्ने उनी आफ्नै रुचिलाई व्यवसायको रुपमा परिणत गर्दा खुशी छिन् । बाल्यकालदेखि नै आफूलाई कुनै काम सानोठूलो नहुने भनी सिकाइएको बताउने उनी त्यसैलाई गुरुमन्त्र बनाएर अगाडि वढेकी छन् । यसरी आफ्नो कामलाई सर्वश्रेष्ठ मान्ने उनी उपचारकै क्रममा रहेपनि अचार बनाउदा सकेसम्म सबै काम आफै गर्ने गरेको छोरी सुनैना कन्डेलले बताइन् ।

राजेश्वरीले विभिन्न समयमा आफ्ना मित्रजन तथा टाढा रहेका आफन्तहरुलाई अचार बनाएर कोशेली पठाउने गर्थिन् । कोशेली पठाउँदा पाएको सकरात्मक प्रतिक्रियाबाट प्रेरित भएर नै राजेश्वरीले बिस्तारै आफ्नो बाल्यकालको रुचिलाई व्यवसायिक रुप दिइन् । हाल उनले १० विभिन्न प्रकारका अचारहरु उत्पादन गर्दै आएकी छन् ।

मंमीको अचारका विशेषता

पछिल्लो समयमा मानिसहरुले स्वस्थबर्द्धक खानालाई महत्व दिने गरेका छन् । ‘मंमीको अचार’मा कुनै प्रिजरबेटिभ नराखी तयार पारिने गरेको सुनैनाले बताइन् । “हाम्रो अध्ययन अनुसार सन् २०१५ देखि मानिसहरुले अर्गानिक खानेकुरा, घरमै बनाएको खाना खाने गरेको पाइयो । त्यसैलाई ध्यानमा राखेर हामीले हाम्रो अचारमा पनि कुनै प्रिजरबेटिभ नराखी अचार बनाउने गरेका छौँ,” उनी भन्छिन्, “ हाम्रोमा उत्पादन हुने १० प्रकारका अचारमा प्रयोग हुने सबै मरमसला घरकै भान्सामा बनाउने गरेका छौँ ।”

हाल मंमीको अचारले मूला, लप्सी, खट्टीमिठी, अकबरे, मासु, आँप, माछा लगायतका विभिन्न प्रकारका अचारहरु उत्पादन गर्दै आएको छ । यी अचारहरुको रेसीपी स्थानीय छ । राजेश्वरीले बाल्यकाल देखि आफ्नो घरमा र वरपर देख्दै आएको रेसीपीको प्रयोग गरी अचार बनाउछिन्। अचारको गुणस्तरमा तथा प्याकेजिङमा कुनै कम्प्रमाइज नगरेको उनको सुनैनाको भनाइ छ । सानो स्केलमा साथीहरुका लागि बनाउँदा प्रयोग गर्ने कच्चा पदार्थकै प्रयोग गरी यसलाई व्यवसायिक रुप दिएको सुनैनाले जानकारी दिइन् ।

दशैंमा पहिलो पटक बजारमा उपलब्ध भएको ‘मंमीको अचार’को निर्माणको कार्य राजेश्वरी स्वयम्ले गर्छिन् भने बजार व्यस्थापन, गुणस्तर मापन, ब्रान्डिङको काम छोरी सुनैनाले गर्दै आएकी छिन् ।

अचार व्यवसाय सुरुवातपछिको परिवर्तन

अचार व्यवसाय सुरु गरेपछि राजेश्वरीले आफूमा सकरात्मक परिवर्तन महसुश गरिरहेकी छिन् । उनी भन्छिन्, “अचार बनाउन सुरु गरेपछि म व्यस्त हुन थालेकी छु । पहिले नराम्रो ख्यालहरु पनि आउथ्यो । तर अहिले व्यस्त भएपछि नराम्रो सोचहरु नआउने रहेछ । ग्राहकहरुले अचार मन पराउँदा उर्जा मिल्छ । म खुशी छु ।”

मौरीको जस्तो मिहिनेती स्वभाव भएकी राजेश्वरीले बिरामी हुनु अगाडि चितवनमा फर्निचर उद्योग सञ्चालन गरिरहेकी थिइन् । नयाँ ठाउँहरु भ्रमण गरी त्यहाँको कला, संस्कृति, प्रकतिमै रमाउने उनी बिरामी परेपछि लामो दूरीको यात्रा गर्न सकेकी छैनन् । एक्लै लामो दूरीको यात्रा गर्न नसकेपनि आफूलाई सानै देखि मन पर्ने काम गरिरहँदा उनी सन्तुष्ट देखिन्छिन् ।

घरघरमा ‘मंमीको अचार’ पुर्याउने लक्ष्य

घरको भान्साबाट सुरु गरिएको ‘मंमीको अचार’को व्यवसायिक यात्रा सुरुभएसँगै राजेश्वरी र सुनैनाले यस व्यसायलाई थप व्यवस्थित बनाउन चाहन्छन् । बूढानिलकन्ठमै अचार उद्योग सञ्चालन ठूलो स्केलसम्म पुग्ने र काठमाडौँ उपत्यका लगायतका अन्य ठाउँमा बसोबास गर्ने मानिसहरु सबैको घरमा ‘मंमीको अचार’ पुर्याउने लक्ष्य सुनैनाको छ । नेपालमा मात्रै नभई सुनैना आफ्नी आमाको हातको जादु अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन चाहन्छिन् ।

परदेशीलाई घरको सम्झना ‘मंमीको अचार’

पछिल्लो समयमा नेपालबाट लाखौँको सङ्ख्यामा युवाहरु बाहिरिरहेका छन् । सपना, रहर र बाध्यता पछ्याउँदै आफ्नो जन्मस्थान देखि टाढा विदेशमा भएका युवाहरुलाई घरको भान्साको सम्झना स्वरुप ‘मंमीको अचार’ पुर्याउने उनको चाहाना छ । अर्गानिक शैलीमा बनाइने ‘मंमीको अचार’ देशमा मात्रै नभई विदेशमा रहेकाले समेत अर्डर गर्ने गरेका छन् । ग्राहकहरुले एकपटक अर्डर गरेपछि अचार मन पराएर पुनः अर्डर गर्ने गरेको र राम्रो प्रतिक्रिया दिने गरेको सुनैना बताउँछिन् ।

आफन्तहरुलाई कोशेली स्वरुप पठाउँदा पाएको प्रतिक्रियाबाट व्यवसायिक गति लिएको मंमीको अचारमा सुरुवाती लगानी कति गरियो भन्ने यकीन छैन । त, पछिल्लो समयमा मासिस १ लाख ७० हजारसम्म आम्दानी गर्ने गरेको सुनैनाले नोटबजारलाई बताइन् ।

बढ्दो प्रतिस्पर्धामा फरक पहिचान

पछिल्लो समयमा नेपालमा विभिन्न ब्रान्डका होम–मेड अचारहरु उत्पादन भइरहेका छन् । जसले बजारमा प्रतिस्पर्धा बढाएको छ । प्रिमियम शैलीमा उत्पादन तथा प्याकेजिङ गरिएको ‘मंमीको अचार’ले आफ्नो युनिक स्वादका कारण बजारमा छुट्टै पहिचान बनाउने र ग्राहकहरुको मन जित्न सफल हुनेमा राजेश्वरी र सुनैना विश्वस्त छन् । आमा छोरीको संयुक्त प्रयासमा जन्मिएको ‘मंमीको अचार’ का १० भेराइटीहरु रहेका छन् । ती मध्ये ग्राहकहरुले लप्सीको अचार सबैभन्दा बढी रुचाएका छन् ।

मंमीको अचारमा प्रयोग हुने कच्चा पदार्थ नेपालका उत्कृष्ट ठाउँबाट ढुवानी गर्ने गरेको सुनैना बताउँछिन् । जस्तै कच्चा पदार्थका रुपमा प्रयोग हुने तोरी चितवनबाट, इलामको फार्ममा उत्पादन गरिएको घिउ, कोशी नदीको माछा र टोखा स्थित अर्गानिक फार्मबाट अचारमा प्रयोग हुने कच्चा पदार्थ ढुवानी गर्ने गरेको उनै सुनैनाले जानकारी दिइन् ।

भविष्यमा अन्तर्राष्ट्रियस्तरमा ‘मंमीको अचार’ लाई पुर्याउने लक्ष्य रोखेकी सुनैना भन्छिन्, “मंमीको अचार प्रिमियम अचार हो, हामीले नेपालमा बजार विस्तार गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा पुर्याउने सोच गरेका छौं । जसका लागि हामीले अन्तर्राष्ट्रिय स्ट्यार्ण्डड अनुसार कै प्याकेजिङ गरेका छौं ।” आफूसँगैका साथीहरु विदेशिँदा नव–उद्यमीका रुपमा उदाइरहेकी उनकी छोरी सुनैनाले नेपालमा अवसरहरु पर्याप्त भएको बताउँछिन् । समस्याहरुलाई औंल्याएर छोड्नुभन्दा समाधानतर्फ लाग्नुपर्नेमा उनी विश्वास गर्छिन् ।

अचार उत्पादनका साथै रोजगारी सिर्जना

राजेश्वरीले ‘मंमीको अचार’ मार्फत अन्य ५ जनालाई रोजगार दिएकी छिन् । पारिवारिक लगानीमा सुरु भएको ‘मंमीको अचार’ औपचारिक रुपमा लन्च भने भएको छैन । तथापि इन्स्टाग्राम मार्फत अर्डर लिने गरेकी बताउदै सुनैना भन्छिन्, “अफिसियल रुपमा लन्च गर्ने तयारीमा छौं, अहिले इन्स्टाग्राम मार्फत अर्डर लिने गरेकी छु, कस्टुमर रिटन रेट उच्च छ ।”

ग्राहकहरुको सकरात्मक प्रतिक्रियाले आफूहरुलाई थप हौसला मिलेको र भविष्यमा अचारका लागि आवश्यक पर्ने कच्चा पदार्थका लागि फार्महाउसको समेत स्थापना गर्ने तयारीमा रहेको सुनैना बताउँछिन्। करिब दुई महिना मृत्युसँग जुझेकी राजेश्वरीले आफ्नो जीवन भोगाइबाट कसैलाई पनि हार नमान्न आग्रह गर्छिन् । ‘मंमीको अचार’ मार्फत आफ्नो पाक्कलाको उत्कृष्ट प्रस्तुति गरिरहेकी उनले कुनै नयाँ काम थालनीका लागि कहिल्यै अबेर नहुने र जीवनमा आउने हरेक उतारचढावलाई सकरात्मक रुपमा लिनुपर्ने बताउँछिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।