नेपाल इन्फ्रास्ट्रचर बैंकले ८ अर्बको आईपिओ जारी गर्ने प्रक्रिया अघि बढायो

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्व बराबरको एक सय रुपैयाँ अंकित दरका आठ करोड कित्ता साधारण शेयर निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठुलो सार्वजनिक निष्काशन हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अधिकृत पूँजी ४० अर्व, जारी पूँजी.२० अर्व र चुक्ता पूँजी १२ अर्व रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी .२० अर्व हुनेछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ जेठ २५ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो । बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृती प्राप्त गरीे २०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार शुुभारम्भ गरेको हो । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.१० नयाँ बानेश्वर, काठमाण्डौंमा रहेको छ।

मुलुक भित्र तथा मुलुक बाहिरबाट दिर्घकालिन श्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकसँग जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्दै जाने योजना रहेको छ ।