नेप्से १४.८८ अंकले बढ्यो, पुनर्बीमा र ब्यापारका सेयरमा लगानीकर्ताको खरिद चासो

0
Shares

सेयर बजार परिसूचक नेप्से वृद्धिले मंगलबार पनि निरन्तरता पाएको छ । यसदिन बजार सूचक १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा बन्द भएको हो । यसअघि आइतबार र सोमबार दुबै दिन नेप्से दोहोरो अंकले बढेको थियो ।

सात दिनको करेक्शनपछिको बजारमा जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताका आकर्षण कायम रहँदै आएकोमा मंगलबार भने लगानीकर्ताहरु हाइड्रोपावरसँगै पुनर्बीमा, ब्यापार र होटल तथा पर्यटनमुलक क्षेत्रमा पनि प्रवेश गरेका छन् । यसले जलविद्युतका सेयरको लगानीबाट आर्जन भएको मुनाफा अर्को क्षेत्रका कम्पनीको सेयरमा लगानी गर्ने क्रमलाई संकेत गर्दछ ।

खासगरी बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले पुनरबीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने तयारी गरेको समाचार बाहिरिएपछि नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा उछाल आएको हो । नेपाल पुनर्बीमासँगै हालै मात्र दोस्रो बजारमा कारोबार हुन थालेको हिमालयन रि इन्स्यारेन्समा समेत लगानीकर्ताले लगानी बढाउँदा दुबै कम्पनीको मूल्य बढेर उच्च कारोबार भएका छन् । यस्तै चन्द्रागिरी हिल्सको एउटै कारोबारमा ५० हजार कित्ता ८८० रुपैयाँमा कारोबार भएपछि अन्य लगानीकर्ताले पनि यस कम्पनीमा लगानी खन्याउँदा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिशाल बजारको सेयर मूल्यमा उछाल आउँदा ब्यापार उपसमुहगत सूचक पनि उच्च रुपमा बढेको छ ।

मंगलबार बजार परिसूचक ०.७० प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.१७, फ्लोट इण्डेक्स ०.५० र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ प्रतिशतले बढेको छ । आज ३०८ कम्पनीका १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर १ लाख १७ हजार ५९ ओटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँ पुगेको छ । सोमबार ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको कारोबार भएकोमा दैनिक कारोबार ९७ करोड ७७ लाख रुपैयाँले बढेको हो । करेक्शनपछिको क्रमगत नेप्से वृद्धिले लगानीकर्ताको मनोबल बढाउँदा दैनिक कारोबार रकम पनि क्रमश बढ्दै गएको हाे ।

यसदिन बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमा र फाइनान्सको इन्डेक्स सामान्य घटेको छ । उता अन्यको सूचक सर्वाधिक ३.५६ प्रतिशतले बढेको छ भने ब्यापार १.७६, होटल तथा पर्यटनमुलक १.५९ प्रतिशत र जलविद्युत १.४७ प्रतिशतले उकालो लागेको छ । आज १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ कम्पनीको घटेको छ । १८ कम्पनीको स्थीर रहेको छ ।

मंगलबार पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा छ । सबैभन्दा धेरै कारोबार भएको यस कम्पनीको ७५ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको १० लाख ७० हजार १७२ कित्ता सेयर २६ हजार २१८ ओटा सङ्ख्यामा खरिद बिक्री भएको हो । यस्तै ङादी ग्रुप पावरको सर्वाधिक २२ करोड २० लाख ३३ हजार, नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७८ लाख ४४ हजार, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९७ लाख ९३ हजार र युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ४९ लाख २३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यस्तै चन्द्रागिरि हिल्सको १२ करोड ८९ लाख, युनिभर्सल पावरको ११ करोड ७४ लाख, हाथवे इन्भेष्टमेन्टको १० करोड २४ लाख र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड ११ लाख रुपैयाँ बढीको कारोबार भयो ।

मंगलबारको बजारमा चन्द्रागिरि हिल्स, समाज लघुवित्त र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । तीनवटै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । चन्द्रागिरि हिल्सको १००५.५० रुपैयाँ, समाज लघुवित्तको ५२८.२० रुपैयाँ र रावा इनर्जी डेभलपमेन्टको प्रतिकित्ता ४९५ रुपैयाँ पुगेको छ । यसैगरी सिनर्जी पावर डेभलपमेन्टको ८.७२, सिंगटी हाइड्रो इनर्जीको ८.२३, ग्रीन लाइफ हाइड्रोपावर ७.९९, बिशाल बजार कम्पनी ७.६७, मकर जितुमाया सुरी हाइड्रोपावरको ७.४८, पुनर्बीमा कम्पनी ६.८६ र युनियन हाइड्रोपावरको ६.५४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

उता आजको बजारबाट मिड सोलु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.३५ प्रतिशतले ओरालो लागेको छ । यससँगै कम्पनीको सेयर प्रतिकित्ता ७६३ रुपैयाँमा कारोबार बन्द भएको छ । गुरासँ लघुवित्त ५.४८, एनआईसी एशिया ब्यालेन्स्ड फन्डको ३.९०, १०.२५ सनराइज डिबेञ्चर २०८३ को ३.८९ र बिन्धबासिनी हाइड्रोपावरको ३. ४० प्रतिशतले घटेर कारोबार बन्द भएको छ ।

मंगलबार कुल बजार पुँजीकरण ३३ खर्ब ३१ अर्ब ४ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार ३३ खर्ब ७ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ पुँजीकरण रहेकोमा यसदिन २३ अर्ब ३८ करोड ९४ लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।