एनसीएचएलको कनेक्ट आइपिएस मार्फत मासिक कारोबार १० अर्ब नाघ्यो, पुसमा साढे ४२ अर्ब सेटलमेन्ट

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली मार्फत भएका मासिक कारोबार पौष महिनामा १२ अर्ब ०५ करोड भन्दा बढि पुगेको छ ।

एनसीएचएलको लागि बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि पौषमा हाल सम्मको सबै भन्दा बढि कारोबार भएको हो । यस आर्थिक वर्षको पौष मसान्तसम्म कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली मार्फत भएको (कारोबार संख्या) ६ लाख ५० हजार १४२ रहेको छ। जुन सेटलमेन्ट रकममा ४२ अर्ब ४८ करोड बराबर रहेको छ ।

कारोबारमा भईरहेको वृद्धिले नेपालमा बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकारयता बढेको समेत छ । कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् ।

उक्त प्ल्याटर्फममा सदस्य बैंकका ग्राहकहरूले फण्ड ट्रान्सफर लगायत अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा शेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्योरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ ।

एनसीएचएलले विद्युतीय चेक भुक्तानी, अन्तरबैंक भुक्तानी प्रणाली र कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली सञ्चालन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६/७७ को पौष मसान्त सम्ममा यी प्रणालीहरु मार्फत एनसीएचएलले कारोबार संख्या ८१ हजार २४९ को कुल सेटलमेन्ट रकम ४२ अर्ब १७ करोड बराबर राफसाफ गर्न सफल भएको छ, जुन गत आ.व. सोहि अवधि भन्दा क्रमश ४४% र २६ % को बृद्धि रहेको छ ।