नेप्सेमा २१ अंकको करेक्शन, पुँजी बढ्ने भएपछि पुनर्बीमाको सेयरमा आकर्षण

0
Shares

तीन दिनको वृद्धिपछि बुधबार सेयर बजार २१.६७ अंकले ओरालो लागेको छ । अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजार करेक्शन भएर बन्द भएको हो । यसअघि आइतबार १०.३७, सोमबार १०.२६ र मंगलबार १४.८८ अंकले नेप्से बढेको थियो ।

सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएसँगै सूचक २१ सय बिन्दुमुनी झरेर २०९७.९३ बिन्दुमा कारोबार बन्द भएको छ । ऋणात्मक बजारमा दैनिक कारोबार रकम पनि २४ करोड ८६ लाख रुपैयाँले घटेको छ । बुधबार आज ३१३ कम्पनीका १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर ९५ हजार ६४५ ओटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन मंगलबार ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार बराबरको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

खासगरी बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले पुनरबीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेर २० अर्ब पु¥याउने भएपछि दोस्रो बजारमा कारोबार हुन थालेको हिमालयन रि इन्स्यारेन्स र नेपाल पुनर्बीमा कम्पनीको अधिक कारोबार भएका छन् । यसदिन पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा छ । सबैभन्दा धेरै कारोबार भएको यस कम्पनीको ६३ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको ८ लाख ८९ हजार ८६८ कित्ता सेयर १६ हजार २६२ ओटा सङ्ख्यामा खरिद बिक्री भएको हो ।

यस्तै एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडको २६ करोड १ लाख ७२ हजार, ङादी ग्रुप पावरको सर्वाधिक २४ करोड २६ लाख ४८ हजार, नेपाल पुनर्बीमा कम्पनीको १९ करोड ८९ लाख ४८ हजार र हाथवे इन्भेष्टमेन्टको ११ करोड ७४ लाख ४० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यस्तै बरुण हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, शिवम् सिमेन्ट र नेपाल इन्फ्रास्टक्चर बैंक शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

यसदिन उत्पादनमुलक उपसमुहगत सूचक सामान्य सकारात्मक रहेपनि बाँकी १२ ओटै घटेका छन् । होटल तथा पर्यटनमुलक सर्वाधिक २.०४ प्रतिशतले घटेको बजारमा विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा र ब्यापार पनि १ प्रतिशत बढीले ओरालो लागेका छन् । आज ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४७ कम्पनीको घटेको छ । १२ कम्पनीको स्थीर रहेको छ ।

यसदिनको बजारमा सामलिङ्ग पावरको सेयरको भाउ ९.८७ प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको ९.६७ प्रतिशतले बढेको छ । सामलिङ्ग पावरको प्रतिकित्ता ६९० रुपैयाँ र मन्दाकिनीको ४६५ रुपैयाँ पुगेको छ । यस्तै पिपल्स पावर ७.६७, रावा इनर्जीडेभलपमेन्ट ५.०५ र पिपुल्स हाइड्रोपावरको ४.९७ प्रतिशतले सेयरमूल्य बढेको छ ।

उता आजको बजारबाट मेन्छियम हाइड्रोपावरको सेयरको भाउ सर्वाधिक ५.८७ प्रतिशतले घट्दा स्वाभिमान लघुवित्त ५.७८, अपर स्याङ्गे हाइड्रोपावर ५.७५, मेगा म्युचुअल फन्ड ५.१३ र ङादी ग्रुप पावरको ४.९७ प्रतिशतले सेयर मूल्य घटेको हो ।

बुधबार कुल बजार पुँजीकरण ३२ खर्ब ९६ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार ३३ खर्ब ३१ अर्ब ४ करोड ८६ लाख रुपैयाँ पुँजीकरण रहेकोमा यसदिन ३४ अर्ब ५ करोड ८७ लाख रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।