माथिल्लो तामाकोशीको कटअफ मूल्य बढ्यो, सेयर नपाउनेको पैसा कहिले हुन्छ फिर्ता ?


तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको प्रारम्भिक कटअफमा संशोधन भएको छ । सेयरको बोलकबोल खोल्दा १४६ रुपैयाँ प्रतिकित्ता मूल्यको प्रारम्भिक कटअफ आएको थियो ।

प्राप्त सबै तथ्यांक प्रशोधनको काम अन्तिम चरणमा पुगेसँगै प्रारम्भिक कटअफमा संशोधन आएको कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज लक्ष्मी क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सेयर पाउने आवेदकको सबै तथ्यांक प्रशोधनको काम पुरा भएको छ । योसँगै कम्पनीको लिलामी सेयरको अन्तिम कटअफ १४७ रुपैयाँ कायम भएको क्यापिटलले जनाएको छ ।

अन्तिम कटअफ मूल्य निर्धारण भएसँगै लिलामी सेयर नपाउनेहरुको संख्या बढेको छ । सेयर नपाउने आवेदकहरुको तथ्यांक प्रशोधनको काम अन्तिम चरणमा रहेको क्यापिटलले जनाएको छ ।

“रिकन्सिलेशनको काम सकेर माघ २२ गते सोमबारदेखि सेयर नपाउनेहरुको पैसा फिर्ता हुन्छ,” क्यापिटलले भनेको छ । उसका अनुसार आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकम फिर्ता गर्नेछ । सबै आवेदकको बैंक खाताको तथ्यांक तयार गरी सम्बन्धित बैंक वित्तीय संस्थाबाट खाता प्रमाणीकरणको काम पनि भइरहेको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार ३० हजार आवेदन परेकोमा ३ हजार ८०० हाराहारी आवेदकले मात्र १४७ रुपैयाँभन्दा माथिको दरमा सेयर पाउने छन् । बाँकी २६ हजार आवेदकले सेयर नपाउने भएका हुन् ।

सबै आवेदकबाट साढे १३ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएकोमा प्रिमियम सहित पौने ३ अर्ब रकम कम्पनीमा रहनेछ भने झण्डै ११ अर्ब हाराहारी लगानीकर्तालाई फिर्ता गर्नुपर्ने हुन्छ ।

धेरै आवेदन परेका कारण सबै आवेदकको विबरण रुजु गर्न र कारोबार भएको हो वा होइन भन्ने यकिन गर्न समस्या भएको क्यापिटलको भनाई छ । क्यापिटलका अनुसार कनेक्ट आईपिएस गर्नेहरुले आफ्नो विबरण रिमाक्र्समा प्रष्ट नराखिदिएका कारण स्टेटमेण्टमा कारोबार खोज्न मुस्किल भएको छ । धेरै आवेदन परेका कारण नै सेयर बाँडफाँडमा केही ढिलाइ भएको जनाएको क्यापिटलले नगद जम्मा गर्नेहरुको हकमा पनि रिकन्सिलेशनमा समस्या भएको बताएको छ ।

कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि २९ गतेसम्म लिलामीबाट बिक्री गरेको हो । माघ ५ गतेदेखि लिलामीको बोलकबोल खोल्न थालेको क्यापिटलले ३ दिन लगाएर माघ ७ गते बोलकबोल खोल्ने काम सकेर प्रारम्भिक कटअफ निकालेको थियो ।

कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरेको हो ।

उक्त हकप्रद र लिलामीको सेयर सूचीकृरण पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँबाट २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।