माथिल्लो तामाकोशीको बोलकबोलमा सेयर नपाउनेले सोमबारदेखि रकम फिर्ता पाउने

0
Shares

माथिल्लो तामाकोशी हाइड्रोपावरको हकप्रदको लिलामीमा बोलकबोल गरेर सेयर हात नपार्ने लगानीकर्ताले माघ २२ गते सोमबारदेखि रकम फिर्ता पाउने भएका छन् ।

लिलामी सेयरको बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार सोमबारदेखि हकप्रद सेयरको लिलामीमा नपरेको रकम क्रमश फिर्ता हुँदै जानेछ । लक्ष्मी सनराइज बैंकमा खाता हुनेले सोमबार नै र अन्य लगानीकर्ताले क्रमश मंगलबार र बुधबारमा रकम फिर्ता पाउने भएका हुन् ।आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत रकम फिर्ता हुनेछ ।   पुस १३ देखि२९ गतेसम्म खुला गरिएको लिलामीमा ३० हजार भन्दा बढी लगानीकर्ताले आवेदन दिएका थिए ।

एक करोेड ७० लाख १९ हजार ५ सय ३० कित्ता लिलामी खुला भएको तामाकोशीको लिलामीमा सेयरको कटअफ १४७ रुपैयाँ कायम भएको थियो । १४७ रुपैयाँ भन्दा बढीले माग बमोजिम र १४७ रुपैयाँ मूल्य राखेर आवेदन दिएकाले मागको ५५ प्रतिशत सेयर हात पार्नेछन् ।

अपर तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दा नबिकेको सेयर लिलामीमा राखेको थियो । कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता विस्तार गर्न र अल्पकालीन ऋणको भार कम गर्ने गरी कम्पनीले हकप्रद जारी गर्ने योजना बनाएको छ । तामाकोसी निर्माण गर्ने अवधारणा बन्दै गर्दा रोल्वालिङ खोलालाई फर्काएर तामाकोसीको जलाशयमा पानी थप्ने योजना कम्पनीको छ । सो योजनालाई थप परिष्कृत गर्दै २०.६६ मेगावाटको रोल्वालिङ आयोजना बनाउने र त्यसपछि पानी जलाशयमा पुराउने योजना कम्पनीको छ । यसका लागि लग्ने ८ अर्ब रुपैयाँ खर्च जुटाउन कम्पनीले हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद जारी भएपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोडबाट दोब्बर भएर २१ अर्ब १८ करोड पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।