राष्ट्र बैंकले साढे २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

0
Shares

नेपाल राष्ट्र बैंकले करिब साढे २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा एक वर्षका लागि मुद्दती निक्षेप राख्ने जनाएको हो ।

राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब २० करोड र कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड गरी २ अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखिनेछ । उक्त निक्षेप २०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो ।

निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले माघ १० गते बेलुका ७ बजेसम्ममा प्रस्ताव आह्वान गरिएको छ । निक्षेप लिनको लागि न्यूनतम पूँजी कोष कायम गरेको हुनुपर्ने, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने शर्त तोकिएको छ ।

यस्तै शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने,समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको लगायतका शर्तहरु तोकिएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।