काठमाडौँ । बैंकिङ क्षेत्रमा खराब कर्जाको जोखिम र चुनौती कायमै रहे तापनि वाणिज्य बैंकहरूको खुद नाफामा भने सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना (भदौ मसान्त) सम्मको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र खुद नाफा १७ अर्ब ८१ करोड रुपैयाँभन्दा माथि पुगेको हो ।
नबिल बैंक नाफाको अग्रस्थानमा, हिमालयनको वृद्धिदर उच्च
भदौ मसान्तसम्मको विवरण अनुसार सर्वाधिक नाफा कमाउने बैंकको शीर्षस्थानमा नबिल बैंक रहेको छ । यस अवधिमा नबिल बैंकले १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ३५ प्रतिशतभन्दा बढीको वृद्धि हो ।
त्यसैगरी, ग्लोबल आइएमई बैंक करिब १ अर्ब ६९ करोड रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २७ करोड रुपैयाँभन्दा बढी नाफा कमाउँदै तेस्रो स्थानमा रहेको छ ।
यता, नाफाको वृद्धिदरका हिसाबले भने हिमालयन बैंक अग्रस्थानमा रहेको छ । बैंकको खुद नाफा ५५ प्रतिशतभन्दा बढीले बढेर ५७ करोड रुपैयाँ पुगेको छ । नेपाल एसबीआई बैंकको खुद नाफा भने ४१ करोड रुपैयाँ बराबर रहेको छ ।
खराब कर्जा र जोखिम व्यवस्थाको ठुलो दबाब
बैंकहरूको खुद नाफा सकारात्मक देखिए पनि कुल कर्जामा देखिएको खराब कर्जाको अनुपातले समग्र वित्तीय क्षेत्रलाई अझै पनि दबाबमा राखेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरूको औसत खराब कर्जा ५.५६ प्रतिशत पुगेको छ । खराब कर्जाको दर बढेसँगै बैंकहरूले नियम अनुसार कुल कर्जाको करिब ५.७४ प्रतिशत रकम कर्जा नोक्सानी व्यवस्थाका रूपमा छुट्ट्याउन बाध्य हुनुपरेको छ । विगतका वर्षहरूमा प्रवाह भएका कर्जाहरू समयमै नउठ्दा र जोखिम व्यवस्थाका लागि ठुलो रकम छुट्याउनुपर्दा केही बैंकहरूको सञ्चित मुनाफामा दबाब परेको देखिन्छ ।
बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिने क्रम बढेसँगै ब्याजदरहरू निरन्तर घट्दो क्रममा रहेका छन् । भदौ मसान्तको तथ्याङ्क अनुसार बैंकहरूको निक्षेपको औसत ब्याजदर झरेर ३ प्रतिशतको आसपासमा आएको छ भने कर्जाको औसत ब्याजदर पनि ६ प्रतिशतको हाराहारीमा सीमित भएको छ ।
भदौ मसान्तसम्म अन्य वाणिज्य बैंकको नाफा कति ?
समीक्षा अवधिमा नेपाल बैंक लिमिटेडले ७३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । कृषि विकास बैंकको नाफा ५५ करोड २५ लाख रुपैयाँ रहेको छ भने माछापुच्छ्रे बैंकको नाफा ५२ करोड १३ लाख रुपैयाँ र सिटिजन्स बैंकको खुद नाफा ४७ करोड रुपैयाँ रहेको छ ।
यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४७ करोड रुपैयाँ नाफा कमाएको छ ।
प्राइम कमर्सियल बैंकको खुद नाफा १ अर्ब १४ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड रुपैयाँ, एनएमबी बैंकको नाफा १ अर्ब ३ करोड रुपैयाँ, सानिमा बैंकको नाफा १ अर्ब २ करोड रुपैयाँ रहेको छ ।
यसैगरि कुमारी बैंकको खुदा नाफा १ अर्ब १ करोड, एभरेष्ट बैंकको नाफा ९८ करोड, लक्ष्मी सनराइज बैंकको नाफा ८९ करोड, सिद्धार्थ बैंकको नाफा ८४ करोड, प्रभु बैंकको खुद नाफा ७४ करोड रुपैयाँ र नेपाल बैंकको नाफा ७३ करोड रुपैयाँ रहेको छ । माछापुच्छ्र बैंकको नाफा ५२ करोड र एनआईसी एशिया बैंकको नाफा ४९ करोड रुपैयाँ रहेको छ ।








