नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले फागुन १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।  बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्काशन गर्न लागेको हो ।

बैंकले ६० प्रतिशत अर्थात २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ।

सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि फागुन १५ गतेसम्म लम्बिने छ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।