ङादी ग्रुपको नाफामा ३५% को सुधार

0
Shares

ङादी ग्रुप पावर लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५.६५ प्रतिशत बढेको छ । विद्युत बिक्री आम्दानी बढेर वित्तीय खर्च घट्दा कम्पनीको मुनाफमा आकर्षक सुधार आएको हो ।

कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ करोड ३२ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ४५ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.१४ प्रतिशत बढेर ८ करोड १३ लाख ४० हजार रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा ८ करोड ४ लाख २७ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ छ । अन्य इक्विटी ९ करोड २१ लाख र रिटेर्न अनिङ्ग १ अर्ब २ करोड रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी ३ रुपैयाँ ५९ पैसा, प्रति सेयर नेटवर्थ १६० रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात ७५.८५ गुणा कायम भएको छ ।

कम्पनीको वित्तीय खर्च घटेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १ करोड २५ लाख ३३ हजार खर्च गरेको छ । गत आवको सोही अवधिमा २ करोड ६७ लाख ७३ हजार रहेकोमा वित्तीय खर्च ५३.१९ प्रतिशत घटेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १.९१ प्रतिशत बढेर ६ करोड ७० लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

पुस मसान्तसम्ममा कम्पनीले लगानीमा २ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ । एनजीपीएलले सगरमाथा जलविद्युत कम्पनीमा ३४.५७ लाख कित्ताले हुन आउने एक अर्ब ३४ करोड र माई खोला हाइड्रोपावरमा १४ लाख कित्ताले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । यस्तै एनजीपीएलले सूचीकृत नगरिएको कम्पनी सिउरी न्यादी पावरमा एक अर्ब ७ करोड ६८ लाख बराबरको १ करोड ०७ लाख ६८ हजार सेयर लगानी गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।