सिउरी न्यादी पावर र एनएमबि क्यापिटलबीच आईपीओ निष्कासन सम्झौता

0
Shares

सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

सार्वजनिक निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा सिउरी न्यादी पावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  सो सम्बन्धी सम्झौतापत्र कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ ।

अधिकृत तथा जारी पुँजी ६ अर्ब १९ करोड ६० लाख ७८ हजार ४०० रुपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पुँजीको ४९ प्रतिशत अर्थात ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४०० रुपैयाँ रकम बराबरको प्रति अंकित मूल्य १०० रुपैयाँका दरका ३ करोड ०३ लाख ६० हजार ७८४ कित्ता सेयर जारी गर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने जनाएको छ । उक्त साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक दिनेश गुरुङ्ग, प्रमुख कार्यकारी अधिकृत यज्ञ प्रसाद सुवेदी सहित प्रमुख वित्त अधिकृत कृष्णलाल श्रेष्ठ तथा एनएमबि क्यापिटल लिमिटेडका कमल प्रसाद नेपाल तथा निशान लाल जोशीको समेत उपस्थिति रहेको थियो ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाईने कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँले बताए । ४०.२७ मेगावाटको उक्त आयोजनाको हालसम्म करिब ५५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भै सकेको तथा सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्र गतिमा निर्माण कार्य भैरहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।