नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गरेर निर्माण गर्न सकियो भने यस्ता नियम कानुनहरुको कार्यान्वयन गर्न सजिलो हुने र यसले देशमा व्यावसायिक विकासका लागि पनि ठूलो सहयोग पुर्याउने बताएका छन् ।
नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि तीन तहको सरकार विद्यमान रहेको उल्लेख गर्दै ढकालले भने– यी तीनै तहका सरकारहरुले निजी क्षेत्रसँग सम्बन्धित नयाँ नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग समन्वय गर्न सकिएमा यसले सरकार र निजी क्षेत्रबीचको साझेदारिता थप बलियो हुनेछ, राष्ट्रिय समृद्धिमा पनि सहयोग पुग्ने छ ।
उनले भने– सरोकारवालाहरुको सामान्य परामर्श मात्र लिने काम भयो भने पनि यसले उनीहरुका व्यावसायिक अप्ठेराहरु सुल्झाउन सहयोग नै गर्नेछ र आफ्नो परामर्शमा निर्माण भएका यस्ता नियमहरुको कार्यान्वयन गर्न वास्तवमा व्यावसायीहरु आफै पनि लाग्नेछन् ।
नेपाल निर्माण व्यावसायी महासंघको २१ औँ साधारण सभालाई आज भक्तपुरमा सम्बोधन गर्दै उपाध्यक्ष ढकालले नेपालमा राजनीतिक परिवर्तनपछिको हालको समयमा सबै नेपालीले चाहेको विषय भनेको आर्थिक समृद्धि नै हो र त्यसका लागि आवश्यक पहिलो खुड्किलो भनेको पूर्वाधार निर्माण हो– ढकालले भने ।
पूर्वाधार निर्माणका लागि महत्वपूर्ण पक्ष भनेको देशका निर्माण व्यवसायीहरु हुन् भन्दै उनले देश निर्माणका निमित्त निर्माण व्यावसायीहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।
सरकारी निकायहरु तथा विगतदेखि कार्यान्वयनमा रहेका नियमहरुका कारण कतिपय अवस्थामा निर्माण व्यावसायीहरुलाई पनि असहज बनाएको अवस्था पनि विद्यमान रहेकोतर्फ सरोकारवाला निकायले सोच्नुपर्नेमा उनले जोड दिए ।










प्रतिक्रिया