गणपति लघुवित्तको दोस्रो त्रैमासमा खराब प्रदर्शन, अधिकांश सूचक ओरालोतर्फ

0
Shares

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणमा खराब प्रदर्शन गरेको छ ।
कम्पनीको निक्षेप संकलन, कर्जा लगानी, सञ्चालन नाफा, खुद नाफा, सेयरधनी कोष र वार्षिक प्रतिसेयर आम्दानी घटेका छन् । खुद ब्याज आम्दानीमा केही सुधार गरेको लघुवित्तको जगेडा कोष वृद्धि पछि प्रतिसेयर नेटवर्थ भने बढेको छ ।

दोस्रो त्रैमासमा लघुवित्तको नाफा ५.३३ प्रतिशत घटेर १ करोड ७ लाखमा सीमित भएको हो । गत आवको पुससम्म १ करोड १३ लाख नाफा कमाएको थियो । दोस्रो त्रैमाससम्ममा लघुवित्तको वितरणयोग्य नाफा ५६ लाख १० हजार मात्र छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खराब कर्जा अनुपात गत आवमा १.४८ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४.६६ प्रतिशत पुगेको छ ।

चुक्ता पुँजी १५ करोड १५ लाख रहेको कम्पनीको रिटेन्ड अर्निङ ९२.७६ प्रतिशत घटेर २० लाख ८० हजार सञ्चिति छ । पुससम्म जगेडा कोषमा ६ करोड ८७ लाख ५७ हजार जम्मा भएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रति सेयर आम्दानी ७९ पैसा घटेर १४ रुपैयाँ १८ पैसा कायम हुँदा प्रति सेयर नेटवर्थ भने १० रुपैयाँ ३४ पैसा बढेर १४६ रुपैयाँ ७४ पैसा पुगेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५१३ रुपैयाँ छ । यस्तै कस्ट अफ फन्ड १०.४९ प्रतिशत र मूल्य आम्दानी अनुपात ५५.७३ गुणा छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले ४८ करोड ६३ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ४९ करोड ७३ लाख सापटी मार्फत कुल २ अर्ब ५ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको निक्षेप, सापटी र कर्जा लगानी १५ प्रतिशत हाराहारीमा घटेको हो ।

गत आवमा कम्पनीले ५ करोड ६ लाख ५५ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर ५ करोड २५ लाख २९ हजार पुगेको छ । कम्पनीको खुद सञ्चालन नाफा भने गत आवको तुलनामा चालू आवमा ५.३३ प्रतिशतले कमी आई १ करोड ७ लाख ४२ हजारमा झरेको छ । चालू आवमा कम्पनीको खराब कर्जा बढेकाले र सञ्चालन नाफा घट्दा नाफा प्रभावित भएको हो । कम्पनीले एक करोड ९० लाख बराबरको खराब कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।