हिमालयन रि इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने


हिमालयन रि इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

उक्त हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ११ बजे शुरु हुनेछ ।

यस्तै, सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

यस्तै सभाले २०७९\०८० को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।

यस्तै सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीतर्फको रिक्त रहेको संचालक पदमा बाँकी कार्यकालको लागि तथा सर्वसाधारण शेयरधनी समूह मध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।