ओरियण्टल होटल्सको नाफामा उछाल, यस्तो छ वित्तीय अवस्था

0
Shares

ओरियण्टल होटल्स लिमिटेडको खुद नाफामा ४६.२४ प्रतिशतको उछाल आएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म होटलले ५ करोड ३४ लाख ८९ हजार नाफा कमाएको हो ।

गत आवको ६ महीना अवधिमा होटल्सले ३ करोड ६५ लाख नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार वैवाहिक पार्टी तथा समारोह गर्ने बढ्दा होटल्सको आम्दानीमा वृद्धि भएसँगै नाफामा उच्च सुधार आएको हो ।

चालू आवको पुस मसान्तसम्म होटल्सको आम्दानी ५६ करोड १ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा होटल्सले ४३ करोड ९० लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको थियो । सञ्चालन नाफा ७ करोड १२ लाखबाट २ करोड ५१ लाख रुपैयाँले बढेर ९ करोड ६३ लाख माथि पुगेको छ । होटलले आम्दानीमा वृद्धि हुनुको मुख्य कारण नेपालमा क्रमशः अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमनमा वृद्धि हुँदै जानुलाई मानेको छ । नेपालमा पर्यटन व्यवसायको प्रचुर सम्भावना भएकोले आगामी दिनमा आय अझै वृद्धि हुने बिश्वास होटलको छ ।

चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ रहेको होटल्सले दोस्रो त्रैमाससम्ममा जगेडा कोषको आकार ९० करोड ८० लाख ५४ हजारबाट ६६.८२% बढेर २ अर्ब ७३ करोड ६४ लाख ८० हजार रुपैयाँ सञ्चिति गरेको छ । होटलको वार्षिक प्रति सेयर आम्दानी ४ रुपैयाँ ७४ पैसा र प्रति सेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात छ ।

गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको अन्य आम्दानी २ करोड २७ लाख रहेकोमा घटेर १ करोड ५४ लाखमा खुम्चिएको छ । यस अवधिमा खर्चमा पनि २२.६८% प्रतिशत वृद्धि भएको छ । गत आवको ६ महीनामा ३९ करोड ६ लाख कुल खर्च गरेको होटलको यस वर्ष ४७ करोड ९१ लाख बढी खर्च भएको छ । वित्तीय खर्च २ करोड ४२ लाखबाट बढेर २ करोड ८४ लाख पुगेको छ ।

उद्योग र अर्थ व्यवस्थामा महामारीको प्रभाव न्यूनीकरणका लागि विशेष उपायको आवश्यक्ताको पहिचानका लागि नेपाल सरकार, प्रदेश सरकारहरू र नेपाल राष्ट्र बैंकले विभिन्न उपायहरू सुरू गरेको छ, जसले कम वैधानिक परिपालनाको माध्यमबाट र कर्जा प्रवाहमा वृद्धि गरेर आपूर्ति श्रृंखलामा भएको अवरोधको न्यूनीकरणमा मद्दत पुग्ने होटलले जानकारी दियो ।

त्यसैगरि नेपालको तारे र बिनातारे श्रेणी होटलहरुको छाता संगठन होटल एशोसिएसन नेपाल (हान) ले कसरी यस प्रतिकूल प्रभावहरुलाई कम गरि होटल उद्योगको व्यवसायलाई सहज बनाउन मद्दत गर्नेछ भन्ने उपायहरूको पहिचान गर्ने गरेको छ । यसले मात्र समाधान नहुने भएकोले यस अवधिमा यस होटललाई हुने क्षति कम गर्नु बिभिन्न लागतहरू कसरी कम गर्न सकिन्छ भनेर यस होटलका ब्यवस्थापक निरन्तर रूपमा प्रयासरत् रहेको बताइएको छ । आगामी दिनहरूमा कम्पनीले उपयुक्त अवसरको खोजी गरि अक्युपेन्सी र आम्दानी बढाउनका लागि अपनाउनुपर्ने सबै व्यावसायीक रणनीतिक संयन्त्रहरूको समुचित सदुपयोग गर्दै उपलब्ध अत्याधुनिक साधनहरूको प्रयोग लगायत सबै उपायहरू अबलम्बन गरि कार्य गर्ने जनाएको छ ।

साथै होटल सञ्चालन लागतमा मितव्ययीता अपनाई नियन्त्रणात्मक कार्य योजना अन्तर्गत अनावश्यक खर्च कटौतीलाई जारी राख्दै विविध बजार खण्डमा सुक्ष्म रूपमा प्रवेश गरि आफ्नो व्यावसायिक गतिविधिहरू सञ्चालन जारी राख्ने योजना छ । सहवित्तीयकरण कर्जा एवम् चालू पूँजीहरूको साँवा व्याज नेपाल राष्ट्र बैंकद्वारा निर्देशित सुबिधाहरूलाई ग्रहण गर्दै निर्धारित समयमा भुक्तानी गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।