जिप्रका सिन्धुपाल्चोकद्धारा बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

0
Shares

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक (जिप्रका) ले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ।

बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ।

बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटासहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए।

सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाइएका घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो। सूचना अटेर गरिएपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि सामान्य झडप समेत भएको थियो ।