चन्द्रागिरी हिल्सको खुद नाफा सवा ६ करोड

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडले ६ करोड २८ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीले कमाएको नाफा २२.०७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड १४ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले सञ्चालन आम्दानी १२.०७ प्रतिशत बढेर ४५ करोड ७५ लाख ३७ हजार रुपैयाँ पुगेको छ । यस्तै कुल आम्दानी ११.८६ प्रतिशत बढेर ४० करोड २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चन्द्रागिरी हिल्सको वित्तीय खर्च ४.८५ प्रतिशत घटेपनि कुल खर्च पनि २६.४३ प्रतिशत बढेको छ । पुससम्म वित्तीय खर्च १२ करोड ८० लाख ४५ हजार छ भने कुल खर्च १३ करोड ९२ लाख ७९ हजार रुपैयाँ छ । कम्पनीको सावधिक कर्जाको किस्ता तथा सो को व्याज तोकिएको समयमा भुक्तानी गर्दै आएको जनाएको छ ।

चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष अझै १६ करोड ७३ लाख १ हजार रुपैयाँ ऋणात्मक छ । गत आवको पुससम्म ३४ करोड २९ लाख ४९ हजार ऋणात्मक थियो ।

विवरण अनुसार कम्पनीको नाफासँगै प्रति सेयर आम्दानी पनि १ रुपैयाँ ४८ पैसा बढेर ८ रुपैयाँ १९ पैसा कायम भएको छ । यस्तै प्रति सेयर नेटवर्थ ८९ रुपैयाँ ९ पैसा र मूल्य आम्दानी अनुपात १११.७९ गुणा छ । चन्द्रागिरी हिल्सले चालु आव २०८०–८१ को तीन महीनामा २ करोड १३ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

हालको प्रतिस्पर्धी पर्यटन बजारमा चन्द्रागिरि हिल्सको अद्वितीय, मनमोहक र प्राकृतिक वातावरण तथा विभिन्न पर्यटकिय उपजहरुको समुचित उपयोग गरि ग्राहक केन्द्रित उत्कृष्ट सेवा प्रदान, अनावश्यक खर्च कटौती एवं नियन्त्रण गर्दै कम्पनीको आम्दानीमा उल्लेख्य सुधार गर्ने रणनीति बनाएको छ । यसका लागि कम्पनीका सञ्चालकहरुसँगको छलफल पश्चात कम्पनीका सेयरधनीहरुका लागि विशेष छुट सहितको प्याकेजका अतिरिक्त प्रत्येक शुक्रबार चन्द्रागिरि हिल्समा घुम्न इच्छुक व्यक्तिहरुको सुविधालाई ध्यानमा राखि सन्ध्याकालीन केवलकार सञ्चालन र सो अवधिको टिकटमा विशेष छुट सहित सेवालाई निरन्तता दिइएको छ । आगामी दिनमा समेत यहाँ घुम्न चाहने पर्यटकलाई नयाँ नयाँ प्याकेज बनाई उपलब्ध गराउने योजना कम्पनीले बनाएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार वर्ष २०२३ मा करिव १० लाख १४ हजार पर्यटकहरु नेपाल भित्रिएका छन् । यसरी विश्वव्यापी रुपमा पर्यटन क्षेत्र चलायमान भएको उत्साहजनक सूचक र यसबाट मुलुकमा विदेशी मुद्राको आम्दानीमा सकारात्मक प्रभाव पर्न जाने भन्दै चन्द्रागिरी हिल्स जस्तो एकिकृत पर्यटकिय गतिविधि सञ्चालन गर्ने कम्पनीका लागि झनै ठूलो अवसर भएको कम्पनीले जनाएको छ ।

नेप्सेको होटल तथा पर्यटनमुलक क्षेत्रमा सूचीकृत यस कम्पनीको धितोपत्रको दोस्रो बजारमा सोमबार प्रतिकित्ता सेयर मूल्य प्रतिकित्ता ९०५ रुपैयाँ हाराहारीमा खरिद बिक्री भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।