लिवियामा वैदेशिक हस्तक्षेप रोकिनुपर्छ : राष्ट्रसंघ प्रतिनिधि

0
Shares

संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले लिवियाली द्वन्द्वमा अन्तर्राष्ट्रिय शक्तिहरूले आफ्नो हस्तक्षेपलाई रोक्नुपर्ने लिवियाका लागि बताएका छन्।

लिवियामा विदेशी हस्तक्षेपका कारण क्षणभर केही शान्ति भएजस्तो देखिने भएपनि यहाँको दीर्घकालिन राजनीतिक समाधानका लागि कुनै अर्थ नरहने गरेको शनिबार राष्ट्रसंघीय विशेष दूत घसाम सलामीले बताएका हुन्।

विश्वका शक्तिराष्ट्रहरू लिवियामा जारी द्वन्द्वको अन्त्यका लागि जर्मनीको बर्लिनमा भेला भएका समय त्यहाँ कार्यरत राष्ट्रसंघीय विशेष दूत सलामीले लिवियाको समाधान लिवियाभित्रका प्रतिद्वन्द्वीबीच वार्ता गराएर मात्र सम्भव देखिएको बताएका हुन्। उत्तर अफ्रिकी मुलुक लिवियामा वैदेशिक हस्तक्षेपका कारण लिवियाली नागरिकबीच ठूलो विभाजन ल्याएको उनको ठहर थियो।

सलामीले भने, “लिवियाली जनताले सहयोगका लागि विदेशी गुहार्ने दुश्चक्रलाई अन्त्य गरी लिवियाली जनताबीचको एकता त्यहाँको स्थायी शान्तिको सहज बाटो हो। तर विदेशीहरूको स्वार्थसिद्धका लागि फरक फरक देशले छुट्टाछुट्टै समूहलाई च्याप्दा समस्या झनै बल्झिने गरेको देखिएको छ।

त्यसैले उनीहरूको समस्यामा मध्यस्थता गर्दै लिवियाली समूहबीच वार्ता र सहमति निर्माणको वातावरण हुनुपर्छ।”

लिवियाली प्रधानमन्त्री फायज अल–साराज र सैनिक नेता खालिफा हफ्तर बर्लिनमा आइतबार हुने सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ भने मध्यस्थताका लागि सम्मेलनमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन र संयुक्त अरब इमिरेट्स (युएई), टर्की, गणतन्त्र कंगो, इटाली, इजिप्ट र अल्जेरियाका प्रतिनिधिहरु सहभागी हुनेछन्।

त्यसैगरी संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अफ्रिकन युनियन र अरब लिगलगायतका संघ संस्थाका प्रतिनिधिहरु पनि सम्मेलनमा सहभागी हुने जर्मनीका सरकारी अधिकारीहरुले जारी गरेको वक्तव्यमा जनाइएको छ।

वक्तव्यका अनुसार जर्मन चान्सलर एन्जेला मर्केलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरेका हो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सम्मेलनमा मध्यस्थताका लागि पुग्नेछन्।

सम्मेलनमा भएको छलफलका आधारमा दस्तावेज बनाएर राखिने र त्यसै आधारमा दुई खेमामा विभाजित लिवियाली राजनीतिलाई एकताको सुत्रमा बाध्ने पहल गरिनेछ।