ब्याजदर घटेपछि सेयर बजारमा दोहोरो अंकको वृद्धि, सूचक २१ सय बिन्दुमाथि उक्लियो

0
Shares

माघ महीनाको अन्तिम दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुनदेखि निक्षेप तथा कर्जाको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेसँगै सोमबारको बजारमा त्यसको सकारात्मक असर देखिएको हो । यसअघि चारदिन बढेपछि आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको थियो ।

यसदिन बजार सूचक नेप्से सूचक १५.३३ अंकले घटेर २१०१.१६ बिन्दुमा कायम भएको हो । सोमबार सेन्सेटिभ इण्डेक्स १.२४ अंक, फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ । सोमबार ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर ७५ हजार १०५ पटक खदि बिक्री हुँदा कारोबार रकम ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन आइतबार ३०५ कम्पनीको १ करोड ५ लाख कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम भने ४९ करोड ८७ लाख रुपैयाँले घटेको हो ।

आज कारोबारमा आएको १३ उपसमूहगत सूचकमध्ये अन्य बाहेक सबै बढेका छन् । उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक २.२२ प्रतिशतले बढ्दा जलविद्युत १.८३, निर्जीवन बीमा १.७०, लगानी १.२५ र फाइनान्स १.१६ प्रतिशतले बढेको छ । बाँकी सबै एक प्रतिशतभन्दा कम बढेका छन् ।

यसदिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्यारेन्सको सेयर सर्वाधिक २३ करोड २ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर आज २ रुपैयाँ ८० पैसाले घटेर कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्टक्चरको १६ करोड ३० हजार २५ हजार रुपैयाँमा खरिद बिक्री हुँदा एनआईसी एशिया बैंकको १३ करोड ७७ लाख, ९ करोड २३ लाख, नेपाल इन्स्योरेन्सको ११ करोड ३७ लाख, र सोनापुर मिनरल्स एण्ड आयलको १० करोड २७ लाख रुपैयाँ माथिको खरिद बिक्री भएको छ ।

साेमबार पाँच कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेका छन् । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको सेयर मूल्य दश प्रतिशतले बढेको हो । जोशी हाइड्रोपावरको ९.२९ प्रतिशत, दोर्दीखोला जलविद्युत ८.५४, महुली लघुवित्त ८.१२, गुराँस लघुवित्त ८.१० प्रतिशत र भिजन लुम्बिनी उर्जा लिमिटेडको ७.७९ प्रतिशतले बढेको छ ।

आजको एनआईसी एशिया ग्रोथ फन्ड–२ को इकाई मूल्य सर्वाधिक ८.८९ प्रतिशतले घटेको छ । इमर्जिङ्ग नेपाल लिमिटेडको ३.८६ प्रतिशत, मिड सोलु हाइड्रोपावरको ३.१८ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को २.७९, ८.५% एसबिएल डिबेञ्चर २०८७ को मूल्य २.०७ प्रतिशतले घटेको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड १८ लाख ७ हजार ९०३ रुपैयाँमा समेटिएको छ । आइतबार ३२ खर्ब ७८ अर्ब ७३ करोड ३७ लाख थियो । सोमबार मात्रै २४ अर्ब १० करोड ८१ लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।