प्रिमियममा आईपीओ जारी गरेको घोराही सिमेन्ट करिब ४२ करोड नोक्सानीमा

0
Shares

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म ४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । प्रिमियम सहित सर्वसाधारणमा प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ जारी गरेको यस कम्पनीको अवस्था दयनीय बनेको हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ५४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको असोज मसान्तमा कम्पनी १९ करोड ८८ लाख २३ हजार रहेकोमा पछिललो ३ महीनामा मात्रै २१ करोड ९६ लाख १५ हजार रुपैयाँले नोक्सानी बढेको हो ।

चालु आर्थिक वर्षको पुससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सिमेन्ट बिक्री आय १ अर्ब ७१ करोड २४ लाख ९५ हजार रुपैयाँ छ । गत आवको यसै अवधिमा गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ६८ करोड ८७ लाख हजार रुपैयाँ रहेको थियो । बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सञ्चालन २० करोड ८८ लाख ३६ हजारबाट पुसमा १५ करोड २४ लाख ९६ हजार ऋणात्मक बनेको छ ।

गत आवको यसै अवधिमा ०.४९ पैसा वार्षिक प्रति सेयर आम्दानी रहेको कम्पनीको चालु आवमा १८ रुपैयाँ ३२ पैसा ऋणात्मक बनेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा छ । यस्तै चुक्ता पुँजी ४३.७५% बढेर ४ अर्ब ५६ करोड ७६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यस्तै सेयर प्रिमियमा २ अर्ब ६५ करोड ८४ लाख ६८ हजार, रिटेन्र्ड अर्निङ्गमा २ अर्ब ९९ करोड २७ लाख २८ हजार र अन्य जगेडा कोषमा ७ करोड ९० लाख गरी कुल ५ अर्ब ७३ करोड २ लाख रुपैयाँ सञ्चित छ ।

वित्तयि विवरण अनुसार कम्पनीको अन्य आम्दानी १० करोड ३७ लाखबाट ९९% घटेर ११ लाख ७७ हजारमा झर्दा प्रशासनिक खर्च ४१.८१% बढेर १५ करोड ५८ लाख ११ हजार रुपैयाँ पुगेको छ । कम्पनीको कुल नाफा ४६.७७ प्रतिशत घटेर १९ करोड ४७ लाख ३३ हजारमा खुम्चिएको छ ।

पुस मसान्तसम्ममा कम्पनीको उठ्न बाँकी बक्यौता गत पुसको तुलनामा २२ प्रतिशत बढेर २ अर्ब ६ करोड नाघेको छ । सहायक कम्पनीमा गरिएको लगानी करिब शतप्रतिशतले बढेर १६ करोड ५० लाख पुगेको छ । कम्पनीसँग ६ अर्ब ४१ कोड ६७ लाख रुपैयाँ बराबरको सम्पत्ति, प्लान्ट र उपकरण रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।