सर्वोत्तम सिमेन्टको आइपीओमा फागुन १३ गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने


सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । यस्तै कम्पनीले कर्मचारी र म्युचुअल फन्डका लागि १ लाख ५४ हजार २२७ कित्ताका दरले कुल ३ लाख ८ हजार ४५४ कित्ता सेयर सुरक्षित गरेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । कम्पनीको आईपीओमा फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म आवेदन दिनुपर्ने छ । उक्त अवधिमा सबै कित्ता बिक्री नभएमा भने निष्काशन अवधि फागुन २७ गतेसम्म लम्बिने छ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन् ।

न्यूनतम ५० कित्ताको दरले बाँडफाँड हुने कम्पनीको २७ लाख ७६ हजार ७६ कित्ता सेयर आईपीओ भने ५५ हजार ५२१ जनाले मात्र हात पार्नेछन् ।

सेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी भन्ने बुझिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।