सहकारीको समस्या पहिचान र समाधानका लागि बागमती प्रदेश स्तरिय साकोस समीट हुँदै


बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ आयोजना हुने भएको छ ।

भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेशका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।

‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने मूल थिमका साथ हुन लागेको समिटको उद्देश्य सदस्य संघ संस्थाका सञ्चालक तथा व्यवस्थापकको क्षमता विकासका लागि नयाँ विषयमा बहस चलाउने, सहकारीका असल अभ्यासहरुलाई धेरै संस्थामा पु¥याउने र अभियानमा ऐक्यवद्धता कायम गर्ने तथा सहकारी संस्कृतिलाई विशिष्ट संस्कृतिको रुपमा बचाई राख्ने रहेको छ ।

त्यसैगरी अभियानका साझा सबालहरुमा साझा धारणा विकास गरी बहस पैरवीमा प्रभावकारिता ल्याउने, सहकारीका वर्तमान चुनौतिहरुको सामनाका लागि कार्यक्रममार्फत सबै संस्थालाई जागरुक गराउने र बचत तथा ऋण सहकारी सञ्जालमा कार्यगत एकता कायम गर्ने उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए ।

सहकारी क्षेत्रको वर्तमान समस्याका बारेमा छलफल हुने समिटमा समस्या निराकरणको बाटो पहिल्याउने विषय समेटिने उनले बताए ।

समिटको पहिलो दिन सहकारी सुध्रिढीकरणको आधारः सहकार्य, एकता र विश्वास, सहकारी अभियानको शुद्धिकरणः कानुन कार्यन्वयन, एकीकरण र वर्गिकरण र सहकारीको वर्तमान आवश्यक्ताः साझा अभियानका लागि साझा सञ्जाल विषयमा विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुने संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले बताए ।

त्यसैगरी दोस्रो दिन सहकारीमा सम्पत्ति शुद्धिकरण निवारणः भावी जोखिम र कार्यन्वयन रणनीति, दक्ष जनशक्ति पलायनः सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणमा उपाय, प्रभावकारी सेवाका लागिः जनशक्ति उत्पेरणा र सहकारी सुशासन प्रर्वद्धनमाः प्रविधीमैत्री कारोबारका विषयमा कार्यपत्र प्रस्तुत हुनुका साथै सहभागीहरुबीच छलफल हुने दाहालले जानकारी दिए ।

बागमती प्रदेशमा करिब ८ हजार बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।