भरतपुर विमानस्थलको धावनमार्ग विस्तार हुँदै


भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ । विमानस्थलमा रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्रलाई शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो ।
धावनमार्ग विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने छ । सर्वेको काम सोमबारदेखि सुरु गरिने भएको हो ।

गत शुक्रबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबारबाट काम सुरु गर्ने सहमति भए अनुरुप काम सुरु हुन लागेको हो । भरतपुर बिमानस्थलका प्रमुख दीपक बिकका अनुसार आइतबार नै प्राबिधिकहरुको टोली चितवन आइपुग्दै छ । “सोमबारदेखि काम अघि वढाउँदै छौ । एक हप्ताभित्र सर्वेको काम सम्पन्न हुनेछ,” उनले भने ।

नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी सहितको उपस्थिति थियो । बैठकले विमानस्थल विस्तार र घोडा प्रजन्नन केन्द्र शक्तिखोरमा स्थान्तरण एक साथ अगाडि बढाउने सहमति गरेको हो । सर्वेको नतिजा आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढाइने बताइएको छ ।

यस्तै समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति पनि भएको छ ।
गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना स्तानान्तरण गर्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले व्यहोर्नेछ ।

कूल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले एक हजार दुई सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ चार सय १२ मिटर बिस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा एक हजार पाँच सय मिटरको बनाउनुपर्नेछ ।

ठूला जहाजसमेत चल्ने गरी विमानस्थल बिस्तार हुनेछ । हाल विमानस्थलको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन् । विमानस्थल विस्तार भएपछि यहाँबाट रात्रिकालिन उडान, ठूलो क्षमताका जहाज, धेरै वटा उडान सुरु हुने र हवाईइन्धनको पनि सेवा उपलब्ध हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।