दुई निर्माण कम्पनीले टोखामा आभाष कोलोनी निर्माण गर्दै


पानारोमा रियल स्टेट प्रालि र वन्डरफुल रियल स्टेट प्रालिले संयुक्त रुपमा टोखाको पन्चेटारमा आभाष कोलोनी निर्माण गरिरहेका छन् । सन् २०२३ को अगस्ट महिनादेखि कम्पनीले जग्गा अधिग्रहण गरी भवन निर्माणको काम सुरु गरेको थियो । निर्माणाधीन अवस्थामा रहेको कोलोनीमा कम्पनीले बुकिङ खुल्ला गरिसकेको छ ।

कुल ८३ युनिटको उक्त कोलोनीमा पानारोमा रियल स्टेट कम्पनीले ४२ वटा हाउजिङ युनिट निर्माण गर्दै छ भने ४१ हाउजिङ युनिट वन्डरफुल रियल स्टेट कम्पनीले निर्माण गर्दै छ ।

विगत दुई दशकदेखि रियल स्टेट क्षेत्रमा कार्यरत दिपक कुवर दुवै निर्माण कम्पनीका प्रमोटर रहेका छन् । उनकै नेतृत्वमा पानारोमा रियल स्टेट र वन्डरफुल रियल स्टेट कम्पनी सञ्चालनमा छन् ।

पछिल्लो समयमा घर बनाउने भन्दा पनि बनिबनाउ घर किन्ने प्रवृति बढेको छ । जसले रियल स्टेट क्षेत्रमा विशेषतः कोलोनी निर्माण, अर्पाटमेन्ट निर्माणको कामले तिव्रता लिएको छ । कम्पनीका प्रमोटर दिपक कुवरकै नेतृत्वमा यी दुई कम्पनीहरुले धापसीमा कुवर कोलोनी, बानियाटरको बानियाटार जग्गा व्यवस्थापन परियोजना, इसान कोलोनी, गंगबुमा ल्होत्से मल, हेपाली हाइटमा आकृति कोलोनीको निर्माण गरिसकेका छन् ।

पानारोमा रियल स्टेट प्रालिले ८५ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ८५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस रेटिङ गरेको छ । यस्तै वन्डरफुल रियल स्टेट कम्पनीले समेत ८५ करोड रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले सोही रकम बराबरको कर्जाका लागि बी प्लस रेटिङ गरेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।