चालू आर्थिक वर्ष २०८०\८१ को सातौ महिना अर्थात माघ महिनासम्ममा मुलुकको व्यापार घाटा ८ खर्ब नाघेको छ । भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ८ खर्ब ११ अर्ब ११ करोड व्यापार घाटा व्यहोरेको हो ।
यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा १.७७ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।
माघ महिनासम्म ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
माघ महिनासम्ममा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २.३१ प्रतिशतले घटेको छ भने निर्यात ७.०७ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार माघ महिनासम्ममा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।
त्यस्तै, यस अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया