चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण


कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । पुल चार करोड ६८ लाख दुई हजार रुपैयाँको लागतमा निर्माण भएको हो । पुल निर्माण पूरा गरी हस्तान्तरण गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले बताए ।

इन्जिनियर चापागाईँका अनुसार २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकमा लोमान्थाङ खोलासहित थप छवटा गाडी चल्ने सडक पुल निर्माण भएका छन् । बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङसहित किम्लिङ, नाम्डोक र भर्माखोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन् । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार  ०८ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।