समयमा कर्जा भुक्तानी नगर्दा नेपाल वेयरहाउजिङ कम्पनीले पायो ‘डि’ रेटिङ

0
Shares

नेपाल वेयरहाउजिङ कम्पनीले ९४ करोड बराबरको कर्जा तोकिएको समयमा भुक्तानी गर्न सकेको छैन । जसकारण रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘डि’ रेटिङ गरेको हो ।

सन् २०२३ को अक्टोबर महिनामा भुक्तानी गर्नुपर्ने ९४ करोड बराबरको दीर्घकालीन कर्जा भुक्तानी गर्न नसक्दा इक्रा नेपालले रेटिङ घटुवा गरेको हो ।

हालै सार्वजनिक निष्काशन गरी कारोबारमा आएको नेपाल वेयरहाउजिङ कम्पनीले चालु आवको ६ महिनामा ७० लाख सञ्चालन आम्दानी गरेको छ । गत आवमा कम्पनीले ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीको उपलब्ध वित्तीय विवरण अनुसार ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा ऋणात्मक रहेको छ । चालु आवको ६ महिनामा कम्पनीको सो नाफा २३५ प्रतिशत ऋणात्मक रहेको छ । यसका साथै कर पछिको नाफा (प्याट) समेत ऋणात्मक रहेको छ । चालु आवको पुस महिनासम्ममा कम्पनीको प्याट भ्यालु १ हजार ३९४ प्रतिशत ऋणात्मक देखिएको हो ।

सन् २०१७ मा स्थापना भएको कम्पनी सन् २०१८ मा पब्लिक लिमिटेडमा परिणत भएको हो । नेपाल वेयरहाउजिङ कम्पनी एक कृषि–वेयर हाउजिङ कम्पनी हो । सुनसरी, पर्सा र कपिलवस्तु गरी कम्पनीको भण्डारण क्षमता ५५ हजार मेट्रिक टन रहेको छ ।

कम्पनीमा निम्बूस ग्रुपको लगानी रहेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएमबि बैंक लिमिटेड, नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड को समेत लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।