सर्वोत्तम सिमेन्टको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला, कस्तो छ कम्पनी ?


सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । यस्तै कम्पनीले कर्मचारी र म्युचुअल फन्डका लागि १ लाख ५४ हजार २२७ कित्ताका दरले कुल ३ लाख ८ हजार ४५४ कित्ता सेयर सुरक्षित गरेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । कम्पनीको आईपीओमा आज १३ गतेदेखि फागुन १६ गतेसम्म आवेदन दिनुपर्ने छ । उक्त अवधिमा सबै कित्ता बिक्री नभएमा भने निष्काशन अवधि फागुन २७ गतेसम्म लम्बिने छ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन् ।

न्यूनतम ५० कित्ताको दरले बाँडफाँड हुने कम्पनीको २७ लाख ७६ हजार ७६ कित्ता सेयर आईपीओ भने ५५ हजार ५२१ जनाले मात्र हात पार्नेछन् ।

सेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी भन्ने बुझिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कस्तो छ कम्पनी ?

सन् २०१० मा स्थापना भएको कम्पनीले क्लिंकर र सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको सिमेन्ट उत्पादन क्षमता प्रति वर्ष ४ लाख मेट्रिक टन रहेको छ भने क्लिंकर उत्पादन क्षमता १० लाख मेट्रिक टन रहेको छ ।

कम्पनीले ‘सर्वोत्तम’ ब्रान्डनामबाट ओपिसी र पिपिसी सिमेन्टको बिक्री वितरण गर्दै आएको छ। सर्वोत्तम सिमेन्ट उद्योगमा सौरभ ग्रुपको लगानी छ भने कम्पनीको प्रमोटर शुभश्री जगदम्बा सिमेन्ट हो ।

चालु आर्थिक वर्षमा सर्वोत्तम सिमेन्टको सिमेन्ट उत्पादन क्षमता ७५ प्रतिशत र क्लिंकर उत्पादन क्षमता ८२ प्रतिशत रहने अनुमान गरिएको छ। आव २०८१\८२ मा सिमेनट उत्पादन क्षमता बढेर ८० प्रतिशत र क्लिंकर उत्पादन क्षमता बढेर ८६ प्रतिशत तथा आव २०८२\८३ मा सिमेन्ट उत्पादन क्षमता बढेर ८५ प्रतिशत र क्लिंकर उत्पादन क्षमता बढेर ९० प्रतिशत पुग्ने प्रक्षेपण छ।

चालु आर्थिक वर्ष २०८०\८१ मा सर्वोत्तम सिमेन्टको प्रतिशेयर नेटवर्थ २०७.२२ रुपैयाँ रहने अनुमान छ। यसैगरी चालु आर्थिक वर्ष २०८०\८१ मा सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी (ईपीएस) १७.८२ रुपैयाँ रहने अनुमान गरिएको छ भने आव २०८१\८२ मा ईपीएस २२.११ रुपैयाँ र आव २०८२\८३ मा २५.४९ रुपैयाँ कायम हुने कम्पनीको प्रक्षेपण छ। आर्थिक वर्ष २०७९\८० सम्म कम्पनीको जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।