नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान


नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तीका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको अध्यक्ष पदमा नियुक्तीको लागि गठित सिफारिस समितिले बुधबार सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । समितीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदन माग गरेको छ ।

इच्छुक नागरिकले आज फागुन १६ गतेदेखि १५ दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाण्डौंमा आवेदन दिनुपर्नेछ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम अध्यक्षको शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्छ ।

कार्यविधि अनुसार कुनै राजनीतिक दलको सदस्य नभएको, नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफै वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नरहेको वा बोर्डसँग निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरुजू बाँकी नरहेको व्यक्ति हुनु पर्छ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको, टाट नपल्टेको वा बेइमानी वा जालसाजी आरोपमा सजाय नपाएको हुनु पर्छ ।

त्यसैगरी दामासाहीमा नपरेको, प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भए नभएको, र भएको भए त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन बर्ष पूरा भएको हुनु पर्छ । अध्यक्षको पदका लागि आवेदन दिन विदेशी मुलुकको स्थायी बसोबासको अनुमति प्राप्त नगरेको, नियामक निकायबाट कार्यकारी प्रमुख हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको व्यक्ति हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।