अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रदमा आजदेखि आवेदन दिन सकिने


अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गरेको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई एक बराबर एक (१ः१) कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको स्वीकृति प्रदान गरेको थियो ।

यसैअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।

कम्पनीको हकप्रद सेयरमा फागुन १७ गतेदेखि चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनको लागि माघ १५ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्ने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।